बर्दिया । भारतको बहराईच जिल्ला मोतीपुर थानाअन्तर्गत बलैगाउँमा बिहीबार दिउँसो भेटिएको शव नेपालीको भएको पाइएको छ । शव बर्दिया बाँसगढी नगरपालिका वडा न ५ रामपुर बस्ने २० वर्षीय दिनेश सुनारको रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार सुनार गत मंगलबार धनगढी जान भनि घरबाट हिँडेका थिए । बिहीबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सिमावर्ती क्षेत्रमा फेला परेको खबर फैलिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर मल्लका अनुसार घटनास्थलको अवस्था हेर्दा सुनारकाे शव चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको थियाे । युवक कसरी सो स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगेको छ भने पोष्टमार्टमपश्चात् युवकको शव आफन्तको जिम्मा लगाइने छ । युवकको परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेका छन् ।