पाेखरा । आज रमा एकादशी हो । वैदिक सनातन धर्ममा एकादशी व्रतको धेरै महत्व रहेको पाइन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्ष भनेको ठूला पापहरूको नाश गर्नु हो । रमा एकादशीको विषयमा चर्चा गर्नु अघि समग्र एकादशीको विषयमा चर्चा गरिन्छ ।
वैदिक सनातन धर्मावलम्बीले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चांगबमोजिम प्रत्येक महिनाको शुक्लपक्ष एवं कृष्णपक्षको एघारौँ तिथिलाई एकादशी भन्दछन् । यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो । एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन् ।
अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्व बढी हुनुमा विभिन्न कारण छन्,
ती यसप्रकार छन्:
१. वातावरणमा विष्णुतत्वको स्पन्दन बढी मात्रामा हुनु ।
२. समस्त प्राणिहरूमा अधिकतम् सात्विकताको मात्रा विद्यमान रहनु ।
३. शरीरमा विद्यमान चैतन्यको गति ‘ऊध्र्व’ अर्थात् माथिल्तिर प्रवाहित हुनु ।
४. व्रत सम्पादन गर्न सजिलो हुनु ।
५. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु ।
एक महिनामा कम्तीमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौँ, दशै इन्द्रीय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छाैँ ।
एकादशी तिथिको जति महत्व छ, त्यत्तिकै महत्वपूर्ण एकादशीको व्रतको पनि छ । एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फल प्राप्ति हुन्छ ।
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठि नित्य शुद्ध बनी निराहार व्रत बसी दान आदि कर्महरू पूरा गर्नुपर्दछ । रमा एकादशी व्रतका अवसरमा भगवान् विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरू एकादशी व्रतमा जस्तै रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ ।
कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक पटक मात्रै भोजन गर्ने चलन छ ।
यस्तो छ पौराणिक कथा
रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता थियो । उनी विष्णु भक्तिका कारण धर्मात्मा र न्यायमूर्ति थिए । उनको चन्द्रभागा नाम गरेकी एक छोरी थिइन । जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो ।
शोभन दुर्वल, कमजोर र भोक सहन नसक्ने थिए । एक दिन शोभन कार्तिककृष्ण पक्षमा ससुराली मुचुकन्दकोमा पुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो र मुचुकुन्दले राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणा गरे । यो खबरले शोभन चिन्तामा परे, उनीसंगै पति भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागा पनि चिन्तामा परिन् ।
चन्द्रभागाले उपाय निकाल्दै भनिन्, स्वामी पिताको राज्यमा एकादशीका दिन जीवजन्तुले समेत भोजन गर्दैनन् । त्यसैले तपाईँ अन्यत्र गई भोजन गर्नुहोस् । तर एकादशी व्रत विधि चाहीँ पुरा गर्नुहोस् । पत्नीको कुरा सुनेर शोभनले अन्त नजाने बरु व्रत नै बस्ने जे परे पनि सहने बताए र व्रत बस्ने निधो गरे ।
रमा एकादशीका दिन शोभनले व्रत बसे । तर भोक, प्यासले व्रतको भोलिपल्ट प्रात: काल मै उनको मृत्यु गयो । पतिको मृत्युपछि चन्द्रभागा माइतै बस्न थालिन् । रमा एकादशी व्रतको प्रभावले शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो।
एक दिन राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा भुल्लिएर मन्दराचल पर्वत पुगे । त्यहाँ उनले राजकुमार शोभनलाई देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति बृतान्त जानकारी लिए । शोभनले ससुरालीमा हुँदाका सबै घटना सुनाए र रमा एकादशीको व्रतको प्रभावले स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।
तीर्थयात्रा सकिएपछि ब्राह्मणले चन्द्रभागालाई सविस्तार सुनाए । त्यसपछि ब्राह्मणका साथमा चन्द्रभागा मन्दराचल गइन् र वामदेव ऋषिका आश्रममा बसिन् । ऋषिले चन्द्रभागासंग सबै बृतान्त सोधे र वेद मन्त्रद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो ।
अन्ततः चन्द्रभागा आफ्ना पतिका समीपमा पुगिन् र रमा एकादशी व्रतका प्रभावले अभूतपूर्व मिलन गर्न सकिन् । शोभन र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे ।