काठमाडौँ। आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै नेपाल आठ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रन को योगदान दिए भने आसिफ शेखले २४ रन र गुल्शन झाले १८ रन जोडे। ओमानका लागि नदीम खानले चार विकेट लिएका थिए।
जवाफमा, १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका लागि विनायक शुम्लाले सर्वाधिक ३२ रन र मोहम्मद नदीमले २५ रन बनाए।
नेपालको तर्फबाट गुल्शन झाले तीन विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे भने नन्दन यादव र सोमपाल कामीले समान दुई/दुई विकेट तथा सन्दीप लामिछानेले एक विकेट लिए।
यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल यो जितसँगै आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ। अब नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।