Nidan Media

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघको साधारणसभा

पोखरा । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ पोखराको २२औँ साधारणसभा तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी महासंघमा अध्यक्ष भरतप्रसाद खतिवडाले देशको पछिल्लो घटनाक्रमले व्यवसायी प्रताडित हुनुपरेको भन्दै निराश नहुन गर्न आग्रह गरे । यस्तो परिस्थितिमा अन्यको तुलनामा फलफूल तथा तरकारी व्यवसाय सुरक्षित रहेको उनले स्पष्ट पारे ।

कृषि उपज बजार व्यवस्थापन समिति अध्यक्ष नवराज दुवाडीले बजार भित्रका सबै व्यवसायीको सुरक्षामा ध्यान दिने बताए । बजारमा गैरनेपाली व्यवसायी नभएको उनले बताए ।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले देशको पछिल्लो परिस्थितिले उद्योगी व्यवसायीलाई मार परेको बताए।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले कृषिको व्यवसायिकरण गर्न सकिए राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले मन दह्रो बनाएर देशको परिस्थितिसँग जुधेर अघि बढ्न आग्रह गरिन् ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र गिरीले व्यवसायीका हक, हित र संरक्षणका लागि सबै किसिमका सहयोग गरिने स्पष्ट पारे । सबै व्यवसायी एकतावद्व हुनु नै अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

कृषि उपज बजार महिला संघका अध्यक्ष सरस्वती श्रेष्ठले देशको पछिल्लो परिस्थितिले व्यवसायी त्रासमा रहेको भन्दै ढुक्कले व्यवसाय गर्ने वातावरण नरहेको बताइन् । बजारभित्र सुरक्षाको वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तथा संघका सल्लाहकार निर्मलप्रसाद बास्तोला, संघका पूर्वअध्यक्ष रामकृष्ण दुवाडी, निवर्तमान अध्यक्ष विष्णु हमाल, मजदुर ढुवानी इकाईका अध्यक्ष प्रितमबहादुर पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा अग्रज व्यवसायी अक्कलबहादुर सिके, उत्कृष्ट व्यवसायी गोकर्ण अधिकारी, उत्कृष्ट महिला व्यवसायी रञ्जिला अधिकारी पाठकलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष दुर्गाप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण मैनालीले स्वागत र सचिव लालप्रसाद ढकालले सञ्चालन गरेका थिए । २०६० सालमा स्थापित संघमा हाल एक सय ४८ जना सदस्य छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.