Nidan Media

तलब वृद्धिलगायतका मागसहित मणिपालका नर्स आन्दोलनमा

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलन शुरू गरेका छन् ।

आफ्नो कामसमेत जारी राख्दै उनीहरूले अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शनसहित आन्दोलन शुरू गरेका हुन् । अस्पतालका करिब तीन सय नर्सहरूले उचित सेवा, सुविधा पाउन नसकेको नर्सहरूको गुनासो छ ।

अस्पतालले आफूहरूलाई न्याय दिनुपर्ने, श्रम शोषण बन्द गर्नुपर्ने भन्दै नर्सहरूलाई मेसिन जसरी काम लगाउन नपाउने माग गरेका छन् ।

काममा ‘ओभरलोड’ भएको र काम अनुसारको परिश्रम नपाएको उनीहरुको गुनासो छ । नर्सहरूले भने ‘हामी नर्स हौँ, मेसिन होइनौँ’ भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।

यसअघि उनीहरूले असोज १९ देखि आन्दोलन गरेका थिए । असोज २० गर्ने वार्तापछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । माग पूरा नभएपछि उनीहरूले फेरि आन्दोलन शुरू गरेका हुन् ।

एक साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

मणिपालमा एक हजार दुई सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारी कार्यरत छन् ।

सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक १९ हजार तीन सयसमेत नपाएको, यसअघि रहेको सात घण्टाको समय बढाएर काम गर्ने समय आठ घण्टा बनाएको, वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदालगायतका अन्य बिदा कटौती गरिएको भन्दै नर्सहरू आन्दोलित भएका हुन् ।

मणिपाल एजुकेसन एन्ड मेडिकल एमबीबीएस कार्यक्रमका लागि सन् १९९४ मा स्थापना स्थापना भएको हो । यस कलेजमा भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थी  अध्ययनरत छन् ।

कम्पनीमा अटोवेज समूहको ८३ प्रतिशत र बतास समूह १७ प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीको अध्यक्ष आनन्दराज बतास छन् भने सञ्चालकमा शान्तराज बतास, नारायण पौडेल, प्रमेश पराजुली छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडुभिल छन् ।

तीन सय शय्या क्षमताको मणिपाललाई पाँच सय शय्याको बनाउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.