काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा मारिएका शहीदका परिवारले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन् ।
शहीद परिवारका सदस्य कमल सुवेदीले सरकार, राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको उदासीनताप्रति गम्भीर आपत्ति जनाए ।
उनले जेनजी नभएकाहरू राष्ट्रपतिसँगको छलफलमा सहभागी भएको भन्दै शहीद परिवारका कसैलाई पनि वार्तामा नराखिएको र अहिलेसम्म कुनै औपचारिक छलफलमा समेत नराखिएको दुःखेसो पोखे ।
सुवेदीले जेन-जी आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले समेत पीडित परिवारलाई बेवास्ता गरेको आरोप लगाए ।
‘सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पूरा गर्न सक्नुभयो । आजसम्म उहाँले एउटा छलफलका लागि पनि बोलाउनुभएको छैन्,’ सुवेदीले भने ।
सुवेदीले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए । गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल नगरेको भन्दै सुवेदीले आफूहरू सडकमा बोलिरहे पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।
उनले जेन-जी आन्दोलनका अपराधीलाई कारवाही गर्ने भन्दै गठित छानबिन आयोगको प्रभावकारिता माथि पनि प्रश्न उठाए ।
आफूहरू न्याय खोज्दा-खोज्दै हामी थाकिसके उनको भनाए छ । छानबिन आयोग बनाइए पनि आजसम्म कसैलाई कारबाही नगरिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।