मकवानपुर । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसले दावी गर्ने भएको छ ।
पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेशसभाको सभामुखमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुखमा अधिकारपूर्वक दावी गर्ने भएको हो।
साथै बैठकमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ ।
साथै, आउँदो पूरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ ।
यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ ।