पाेखरा। असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गतको चौकीडाँडा सडक क्षेत्रमा धमाधम काम भइरहेको छ ।
गत वर्ष असोज ११ र १२ गरेको बाढीले क्षति पुर्याएको सडकमा निर्माण गरिएको डाइभर्सन यस वर्ष बाढीले बगाउँदा बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको हो ।
सो राजमार्ग अन्तर्गत प्याकेज-१ अन्तर्गत दाप्चा पुल, चारसयबेशी, कटुञ्जे घुमाउने खण्डको सडक डाइभर्सन निर्माण कार्य सम्पन्न भएको र चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माणको काम शुक्रबार सकिने नवकान्तिपुर जोइन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।
सोही राजमार्गको प्याकेज-२ अन्तर्गत गिम्दीबेशीदेखि डल्लाबेशीसम्मको डाइभर्सन सडक पनि शुक्रबार नै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
प्याकेज ३ अन्तर्गत सुख्खा पहिरोदेखि माम्तीसम्मको डाइभर्सन सडक निर्माण शनिबारसम्म सक्ने र तत् पश्चात् सो राजमार्ग पूर्णरुपमा सञ्चालन हुने डिभिजन सडक भक्तपुरले जानकारी दिएको छ ।
अहिले सो राजमार्गको चौकीडाँडा क्षेत्रमा जोखिम मोलेर भित्ताबाट पैदल यात्रा गर्दै गन्तव्य पुग्नुपर्ने अवस्था भने गरेको छ । खोलामा पानीको बहाव कायम नै रहेका कारण काम गर्न केही कठिनाइ छ ।





