पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् । बिहीबारका लागि उनी आँफैले पदाधिकारी बैठक बोलाएका थिए ।
उनी निकट एक पदाधिकारीका अनुसार बिहीबारको बैठक उपसभापति पूर्णबहादुर खड्कालाई नै सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णकृष्ण पौडेलका अनुसार सभापतिको अनुपस्थितिमा विधानले नै उपसभापतिलाई बैठक सञ्चालनका लागि अधिकार दिएको छ ।
जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा कुटपिट हुँदा देउवा दम्पत्ति घाइते भएका थिए । त्यसलगत्तै नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा राखेर उपचार गरेको थियो । देउवा दम्पत्ति जेनजी आन्दोलनपछि हालसम्म सार्वजनिक भएका छैनन् ।
पार्टीका अधिकांश नेतहरूले विशेष महाधिवेशन माग गरिरहेका बेला पदाधिकारी बैठकमै सभापति देउवा सहभागी नहुनुले शंका उब्जाएको एक नेताले बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठक यही असोज २६ गतेदेखि शुरू हुँदैछ । बिहीबारका लागि डाकिएको पदाधिकारी बैठक केन्द्रीय समिति बैठकको तयारीका लागि हो ।