Nidan Media

गहनाको लोभमा १० वर्षे बालिकाको हत्या, समिर पक्राउ

बर्दिया । बर्दियामा गहनाको लोभमा १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका वडा नं ५ झबहीका २१ वर्षीय समिर तिरुवा सुनार छन् ।

प्रहरीका अनुसार सुनारले यही असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या गरेकाले पक्राउ गरिएको हो ।

समिरले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्वीकारेको र अरु थप अनुसन्धान गर्दा प्रमाणसमेत भेटिएको बताए ।

उनका अनुसार तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलालीसम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्वीकारेका छन् ।

मारिसकेपछि शव छिट्टै सडोस र नेचुरल देखियोस भनेर नांगै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भइसकेपछि बलत्कारको प्रयास गरेको समेत स्वीकारेको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोष्टमार्टम रिपोर्टपछि मात्र खुलासा हुने प्रहरी उपरीक्षक पौडेलले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए ।

हत्या आरोपी तिरुवालाई बुधबार बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपि अनुसन्धान शुरू गरिएको छ ।

अनुसन्धानको क्रममा शंकास्पद छ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । बुधबार नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुन सक्ने भएकोले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरीक्षक मदनबहादुर गुरुङले जानकारी दिए ।

बालिका गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुरस्थित आफन्तको घरमा वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी थिइन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटोबाटै उनी सम्पर्कविहीन भएकी थिइन् ।

बालिका घर नफर्केपछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए । बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मूलापानी बूढीखोलामा साइकल फेला परेका थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.