Nidan Media

कुवेतविरुद्ध नेपालको शानदार जीत

पोखरा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार जीत हासिल गरेको छ। बुधबार राति ओमानमा सम्पन्न यो जीतसँगै नेपाल सुपर सिक्समा पुग्ने लगभग निश्चित भएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाउँदै कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन को उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए। इनिङ्सको अन्त्यतिर गुल्शन झाले केवल ६ बलमा २० रनको आक्रामक प्रदर्शन खेल्दै स्कोर उकासे ।

उनले १९औँ ओभरको अन्तिम तीन बलमा तीन छक्का प्रहार गरेका थिए । कुवेतका अनुदीप चेन्थामारा र नवीन राजले समान २-२ विकेट लिए।

नेपालले दिएको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट हुन पुग्यो। कुवेतका क्लिन्टो अन्टोले २६ रन र यासिन पटेलले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान नेपाली बलरसामु टिक्न सकेनन् ।

नेपालका लागि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। ललित राजवंशी (४ ओभरमा १७ रन) र सन्दीप लामिछाने (४ ओभरमा २२ रन) ले समान २-२ विकेट लिए ।

महत्त्वपूर्ण रूपमा, कप्तान रोहित पौडेलले केवल २ ओभरमा ७ रन दिएर २ विकेट लिए। कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले पनि समान एक-एक विकेट लिए।

यो जीतसँगै नेपालको विश्वकप छनोट यात्रामा बलियो सुरुवात भएको छ। नेपालले अब समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.