Nidan Media

सुनको भाउमा नयाँ कीर्तिमान, दश दिनमा ताेलामा १५ हजार रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बुधबार पनि ह्वात्तै बढेको छ भने चाँदीको सामान्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनकाे भाउ तोलामा दुई हजार छ सय रुपैयाँले बढ्दा चाँदी भने पाँच रुपैयाँ घटेको हो।

मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुन मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

दशैँअघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन दशैँदेखि लगातार बढिरहेको छ ।

दशैँ अवधिभर प्रतितोला दुई लाख ३० हजार रुपैयाँमा कारोबार भएको सुन दशैँपछि आइतबार दुई लाख ३० हजार छ सय, सोमबार दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

दशैँअघि असोज १२ र दशैँपछिको असोज २२ गते बुधबारसम्ममा सुनको भाउ तोलामा १४ हजार नौ सय रुपैयाँ बढेको छ ।

यता, मंगलबार प्रतितोला दुई हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आज घटेर दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दशैँअघि असोज १२ मा प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी १० दिनको बीचमा तोलामा एक सय ५५ रुपैयाँ वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको वृद्धिको सीधा असर नेपाली बजारमा पनि परेको हो । नेपालमा सुनको भाउ दुई लाख ५० हजार नाघ्ने प्रक्षेपण भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.