बाजुरा । बाजुरामा सोमबार रातिदेखि शुरु भएको वर्षा मंगलबार दिउँसोसम्म जारी छ ।
बाजुराका बडीमालिका नगरपालिका, गौमुल गाउँपालिकासहित माथिल्लो क्षेत्रका चारवटै पालिकामा निरन्तर वर्षा भइरहेको छ ।
वर्षा भएसँगै अधिकांश सडक हिलाम्मे भएका छन् । सडक हिलो हुँदा सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा जाने यातायातका साधनलाईसमस्या भएको छ ।
लगातार वर्षा भएपछि चिसो बढ्नुका साथै उच्च हिमाली भूभागमा हिमपातसमेत भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् ।
चिसो अत्यधिक बढेपछि बाजुरेली घरभित्रै आगो बालेर बसिरहेका छन् भने सदरमुकाम मार्तडी बजारमा चहलपहल न्यून छ ।
स्थानीय तहका प्रमुखहरूले नागरिकलाई बाक्ला कपडा लगाएर घरभित्र बस्न आग्रह गरेका छन् ।
लामो खडेरीले सुख्खा बनेको बाजुरामा वर्षा भएपछि कृषक भने खुसी भएका छन् ।