कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजिपोखरीको संयुक्त आयोजनामा तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी र विभिन्न टोलका आमासमूह गरी नौ टोल सहभागी भएका थिए। सहभागीहरूले आफ्ना प्रस्तुतीमार्फत महिलाका बेदना, लैङ्गिक समानता, महिला सशक्तीकरण, उच्च शिक्षा हासिल गर्नुपर्ने आवश्यकता, रोजगारीको लागि विदेशिनु परेको बाध्यता र त्यसले ल्याउने सामाजिक–पारिवारिक पीडालाई प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए।
साथै सरकारले महिलामैत्री नीतिहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा आसा–गुनासो पनि गीतमार्फत व्यक्त गरिएको थियो। प्रतियोगितामा भूतपूर्व सैनिक सक्रिय टोल प्रथम हुँदै रु ४,००० नगद पुरस्कार प्राप्त गर्न सफल भयो। त्यस्तै, लोकमाया घर्तीको समूह दोस्रो स्थानमा रहँदै रु ३,००० प्राप्त गर्यो भने सपना श्रेष्ठको समूह तेस्रो स्थानमा पुग्दै रु २,५०० प्राप्त गर्न सफल भयो। प्रतियोगितामा बाँकी सबै सहभागी समूहलाई सहभागिता पुरस्कारस्वरूप रु १,५००–१,५०० प्रदान गरिएको थियो।
कार्यक्रम
का प्रमुख अतिथि बन्दना कार्की केसीले तीज जस्ता मौलिक पर्वहरूले समाजलाई एकताबद्ध बनाउन ठूलो भूमिका खेल्ने बताउँदै महिलाको अधिकार र अवसर विस्तारका लागि यस्ता सांस्कृतिक कार्यक्रमहरूले सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो। सभापति तथा कालिका टोल विकास संस्थाका अध्यक्ष टुक बहादुर गुरुङले स्थानीय स्तरमा सामुदायिक एकता र सहकार्य बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो। त्यस्तै, क्याम्पस प्रमुख विरेन्जी गौतमले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा क्याम्पस र टोल विकास संस्था मिलेर अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै क्याम्पसलाई सबल बनाउन सकिने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रमको सञ्चालन सबिता गौतमले गर्नुभएको थियो।
