काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलमाथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय चर्चित पर्यटन स्थल बनेको छ। बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणबाट टाढा, यहाँको हरियाली र शान्त वातावरणमा आनन्द लिन आउनेको घुइँचो बढ्दो छ।
विशेषगरी टिकटकमा भाइरल भएपछि युवायुवतीदेखि परिवारसम्मका पर्यटक यहाँ आउन थालेका छन्। विराटनगरका विकास यादव भन्छन्, “भिडियो हेरेर आएको थिएँ, तर यहाँको दृश्य अझै रमाइलो र आकर्षक रहेछ।”
स्थानीय गणेश तामाङका अनुसार, जन्तीढुङ्गाको दृश्यलाई आफैं अनुभव गर्दा मात्र यसको वास्तविक सौन्दर्य थाहा हुन्छ। हावापानीसँग खेल्दै डाँडासम्म चढ्दा देखिने सुन्दर दृष्यले पर्यटकलाई मोहित पार्ने गरेको छ।
तर यो स्थान सिर्फ प्राकृतिक मात्र नभई धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। किंवदन्ती अनुसार भगवान बेथानचोक नारायणले पञ्चकन्या देवीसँग विवाह गर्ने वाचा पूरा गर्न नसक्दा बेहुलासहित सबै जन्ती ढुङ्गामा परिणत भएका थिए। यही कारण यस ठाउँलाई जन्तीढुङ्गा भनिन्छ।
भित्तामा लस्करै रहेका ढुङ्गा सहजै अवलोकन गर्न सिँढी निर्माण गरिएको छ भने माथिल्लो समथर भागमा बुद्ध प्रतिमा निर्माण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।
जन्तीढुङ्गा पुग्न बनेपाबाट जनगाल, भैँसेपाटी, बाँसडोल हुँदै बुढागणेश मन्दिरतर्फ नौ किलोमिटर यात्रा गर्नुपर्छ। त्यस्तै पनौती बसपार्कबाट चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ।