पोखरा ।
पोखरा इलेक्टिकल एसोसिएशनको नयाँ समिति गठन गरिएको छ । शनिबार भएको २५ औं साधारण सभा तथा १३ औं अधिवेशनले समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा केशब ढकाल, प्रथम उपाध्यक्ष निलबहादुर भुजेल, द्वितिय उपाध्यक्ष कृष्णमणी भण्डारी, तृतिय उपाध्यक्ष सरस्वती गिरी महासचिव मिलन तामाङ, सचिव विजय क्षेत्री, कोषाध्यक्ष प्रदिप पौडेल, सह कोषाध्यक्ष शुसिला अधिकारी भुर्तेल र सदस्यमा अमृत पोख्रेल, नरेन्द्र कुमार कार्की, सरोज थापा छन् ।
संस्थाले गर्दै आएका कामलाई निरन्तरता दिएर थप उचाइमा पुर्याउने ढकालले प्रतिवद्धता गरे ।
संस्थाप्रति सदस्यलाई आकर्षण बढाउन सदस्य लक्षित शिक्षा तालिम र प्रविधिलाई कसरी आत्मसाथ गर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।
संस्थाका सुविधालाई प्रभावकारी बनाउन तीन तहकै सरकार र विद्युतीय व्यवसायी महासंघसँग सहकार्य गर्ने उनको भनाइ छ ।
अध्यक्ष ढकालले विद्युत व्यवसायीलाई स्पष्ट मापदण्डको अभाव र भन्सार कर महंगो हुँदा समस्या परेको बताए ।
मापदण्ड नहुँदा व्यवसायमा समस्या परेको साथै उपकरण आयातमा उच्च करले लागत बढाएको उनको भनाइ छ ।
‘समस्याको समाधानका लागि स्पष्ट नीति र कर घटाउन आवश्यक छ, जसले गर्दा विद्युत क्षेत्रको विकासमा योगदान पुग्नेछ,’ ढकालले भने ।
कार्यक्रममा नेपाल विद्युत व्यवसायी संघका केन्द्रिय अध्यक्ष रेशमप्रसाद देवकोटा, संघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी, गिरीराज बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, राजेश गौतम, पुरुषोत्तम अधिकारी, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोख्रेल लगायतको उपस्थिति थियो ।
पोखरा इलेक्ट्रिकल एसोसिएसन कास्की जिल्लामा छरिएर रहेका विद्युत र विद्युतजन्य कारोबार गर्ने व्यवसायीहरूको साझा संगठन हो । व्यवसायीहरूको हक हितको संरक्षण गर्ने र समस्यालाई समाधान उद्देश्यले २०५६ सालमा संस्थाको स्थापना भएको हो ।