नेपाली फिल्म उद्योगका चर्चित कलाकार पल शाहले कहिल्यै पनि नायक बन्ने सपना देखेका थिएनन्। बाल्यकालदेखि नै उनी भिडियो सम्पादनतर्फ रुचि राख्थे। एसएलसी दिएपछि उनी राजधानी काठमाडौं छिरे—मनमा एउटा सपना बोकेर, “एउटा राम्रो भिडियो ईडीटर बन्छु।“ काठमाडौं आएको केही समयमै उनले एक टेलिभिजन च्यानलमा भिडियो ईडीटरको रूपमा आफ्नो करिअर सुरु गरे। त्यहीँबाट सुरु भयो उनको सांगीतिक र सिनेजगतमा पाइला टेक्ने यात्रा।
टेलिभिजनको काम गर्दै गर्दा उनले कहिल्यै नसोचेको अवसर पाए—एक म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्ताव। अभिनयतर्फ खासै सोच नलगाएका पलले प्रस्ताव स्वीकार गरे र यहींबाट कलात्मक जीवनको नयाँ अध्याय सुरु भयो।
सुरुवाति दिनमा सहज भने थिएन। कोठा भाडा तिर्ने पैसा थिएन, खाजा खान पनि उधारो गर्नुपर्ने दिन आए । घरभेटीले भाडा नतिरेको भन्दै कोठाबाट निकाल्दासमेत उनले धैर्य र सपना गुमाएनन्। ती कठोर दिनका अनुभव आज उनी गर्वसाथ अन्तर्वार्तामा सुनाउँछन्।
परिवारको जेठोे छोराका रुपमा दाङको रामपुरमा जन्मिएका पल शाहको वास्तबिक नाम भने पुर्ण बिक्रम शाह हो । गाउँबाट शहरसम्मको यो यात्रामा थुप्रै चुनौती पार गरे। पहिलो पटक तिम्रो यादमा रुन्छु अचेल, बोलको गितबाट डेब्यु गरेका थिए । त्यस लगतै ‘को होला त्यो मसँग आँखा जुधाउने’ बोलको म्युजिक भिडियोमा देखिएपछि भने उनको यात्राले नयाँ मोडमा प्रवेश ग¥यो। यही गीतले उनलाई दर्शकमाझ चिनायो। त्यसयता उनले ५ हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। एउटा भिडियो नायकबाट उनी आजका चर्चित अभिनेतामध्ये एक बनेका छन्।
फिल्म क्षेत्रमा भने उनले ‘नाइँ न भन्नु ल ४’ बाट डेब्यु गरे। सोहि फिल्मबाट बेस्ट डेब्यु र्आटिस्ट को अर्वाड समेत हात पारेका थिए ।त्यसपछि केही फिल्ममा देखिए पनि पलको लोकप्रियता मुख्यतः म्युजिक भिडियोमार्फत चुलिँदै गयो। देशका मेला–महोत्सवहरूमा उनको माग यस्तो छ कि आयोजकहरू उनलाई हेलिकप्टरमार्फत कार्यक्रममा पुर्याउने गर्छन्। उनका फ्यानहरू उनलाई देख्नकै लागि घन्टौंसम्म पर्खने गर्छन्।
पछिल्ला वर्षहरूमा पल शाहले अभिनय मात्र होइन, निर्माणको यात्रासमेत सुरु गरिसकेका छन्। उनी अहिले ‘यानीमाया’ नामक चलचित्र निर्माणमा जुटेका छन्। अभिनेता मात्र नभएर निर्माता र सिर्जनशील कलाकारको रूपमा उनी नेपाली मनोरञ्जन क्षेत्रमा फरक पहिचान बनाउँदैछन्।
संघर्ष, लगनशीलता र आत्मविश्वासको उत्कृष्ट मिसाल हुन् नायक पल शाह । भिडियो सम्पादक बन्ने सपना देख्दै राजधानी पसेका ती युवक आज लाखौंको मनमा बस्ने कलाकार बनेका छन्।