Nidan Media

तीज विशेष गीत हिट, ‘कोशेढुङ्गा’ फिल्मप्रति बढ्यो दर्शकको चासो

नयाँ फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेदेखि वल्र्डवाइड रिलिज हुने तयारीमा छ। रिलिज पूर्व नै यो फिल्मले आफ्नो तीज विशेष गीत ‘नत्र भने जिन्दगी’ मार्फत चर्चा पाउन सफल भएको छ।

१० दिनअघि सार्वजनिक गरिएको यो गीत अहिले युट्युव, फेसबुक र टिकटकमा भाइरल बन्दै गएको छ। युट्युवमा मात्र १७ लाख भन्दा बढी पटक हेरिएको यस गीतका हजारौं भिडिओ टिकटकमा बनेका छन्। गीतको आकर्षक शब्द र रमाइलो डान्स स्टेप दर्शक र स्रोतामाझ निकै लोकप्रिय बनेको छ।

यो गीतमा गायक खेम सेन्चुरी, गायिका समिक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर रहेको छ। गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत गायक खेम सेन्चुरीले नै भरेका छन्। नृत्य निर्देशन स्मृति तिमल्सिनाले गरिकी छन ।फिल्मको प्रमोशनमा यस गीतले ठूलो बज सिर्जना गरेको देखिन्छ। अब टिजर, ट्रेलर र बाँकी गीत सार्वजनिक भएपछि दर्शकमाझको उत्सुकता झनै बढ्ने विश्वास गरिएको छ।

फिल्म ‘कोशेढुङ्गा’मा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ । महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित फिल्म बनेको छ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा चासो छ । कतिपयले ‘पूर्ण बहादुरको सारङ्गी’को जस्तो रिलिजसँगै टिकट नपाउने पो होकि भन्ने आँकलन गर्न थालेका छन् । अग्रिम बुकिङ खुलेसँगै टिकट काटेर बस्ने भन्दै आइरहेका प्रतिक्रिया पनि देख्न सकिन्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.