पोखरा । पोखराका युवा व्यवसायी सौरभ थापाले जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नो घर, व्यवसाय सबैमा आगजनी भएकोप्रति निकै भावुक भावना सार्वजनिक गरेका छन् ।
घटना भएको तीन दिनपछि आज सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले सेप्टेम्बर ९ आफ्नो परिवारका लागि निकै त्रासदीको दिन बनेको उल्लेख गरेका छन् ।
उनको घरमा आगो लगाइँदा एक सहयोगीको ज्यान गएको छ । आफूहरुको सम्पत्तिमाथि कुनै आक्रोशले आगजनी नगरिएको भन्दै थापाले विशेष समूहले नियोजित रूपमा पेट्रोलका कन्टेनर लिएर तलतलै, कुनाकुनासम्म जलाइदिएको थियो ।
उनले मानिसहरू यति निर्दयी हुन सक्छन् भन्ने आजसम्म पनि विश्वास गर्न नसकेको उल्लेख गर्दै थापाले लेखेका छन्, ‘आन्दोलनकारीलाई कसैले भड्काएको हुन सक्छ, तर पेट्रोल बोकेर आएकाहरूले कसको घर जलिरहेका थिए भनेर राम्रैसँग जान्थे । तिनीहरूलाई भित्र रहेका जीवनको कुनै ख्याल थिएन । तिनीहरू त शीत रगतका हत्यारा भएर आएका थिए ।’
आफ्नो ठूलो बुबा (विन्दुकुमार थापा) राजनीतिज्ञ भए पनि आजसम्म असंक्रमित, इमान्दार नेतामध्ये एक भएको भन्दै व्यवसायी थापाले यो कुरा आफ्नो परिवारका कारण मात्र नभनि सत्यकै आधारमा भनिरहेको बताए ।
उनले निकै भावुक हुँदै लेखेका छन्, ‘हाम्रो परिवारले बनाएको सम्पत्ति जोखिम, निद्राविहीन रात, संघर्ष (जसलाई अरूले सामना गर्नै सक्दैनन्) बाट बनेको हो । यो कथा केवल हाम्रोमात्र होइन, सयौँ निजी व्यवसाय, स्टार्टअप र व्यक्तिगत जीवनको हो जुन एकै रातमा ध्वस्त पारियो ।’
आफ्नो घर, व्यवसाय सबै ध्वस्त भए पनि इच्छाशक्ति र सपना नमरेको भन्दै उनले नेपालप्रतिको प्रेम अझै बाँचिरहेको स्पष्ट पारे । उनले भने, ‘यो भनिएको जेनजी क्रान्ति वास्तवमा राजनीतिक स्वार्थ र व्यक्तिगत इर्श्याले प्रेरित भएकोले देशलाई २० वर्ष पछाडि धकेलेको हुन सक्छ, तर हामी फेरि लड्नेछौंँ, फेरि उभिनेछौँ, फेरि उठ्नेछौँ ।’
‘मेरो बाबुले व्यवसाय हस्तान्तरण गरेर, नयाँ सुरू गर्न सहयोग गरेर मलाई धेरै अवसर दिनुभयो । तर सबैभन्दा महत्वपूर्ण शिक्षा उहाँले कहिल्यै शब्दमा भन्नुभएन । तर आफ्नै जीवनशैलीद्वारा सधैं देखाउनुभयो । मजबुत रह, कहिल्यै आशा नहराउ र परिस्थिति जस्तोसुकै भए पनि तनाव नलिऊ’, थापाले अन्तिममा लेखेका छन्, ‘हाम्रो सम्पत्ति खरानी भए पनि हाम्रो आत्मा अझ बलियो भएर जलिरहेको छ । र कुनै पनि आगोले यसलाई नष्ट गर्न सक्दैन ।’
यस्तो छ थापाको स्टाटस
बधाई छ, Gen-z ! परिवर्तनको पुस्ता भनेर चिनिने पुस्तालाई । म पनि Gen-z अन्तर्गत पर्छु, र सुरु देखिनै यो आन्दोलनको समर्थनमा थिएँ। परिवर्तन आवश्यक थियो। तर कुन मूल्यमा ? सेप्टेम्बर ९ मेरो परिवारका लागि त्रासदीको दिन बन्यो। हाम्रो अपेक्षा नै नगरी मानिसहरू आक्रमण गर्न थालेपछि हामीलाई हाम्रो निवासबाट भाग्नुपर्याे। हाम्रो घर, हाम्रो अफिस, र हामीले अरूलाई भाडामा दिएको सम्पत्ति समेत आक्रमणमा पर्याे। यो सायद सार्वजनिक दङ्गाबाट सुरु भएको थियो, तर हाम्रो भवन सामान्य आक्रोशले मात्र जलाइएको थिएन-विशेष समूहले नियोजित रूपमा पेट्रोलका कन्टेनर लिएर तलतलै, कुनाकुनासम्म जलाईदिएको थियो। त्यसै आगोमा हाम्रो प्रिय घरायसी सहयोगी फसेर जिउँदै जलेर ज्यान गुमाइन्। उहाँप्रति हार्दिक श्रद्धाञ्जली। मानिसहरू यति निर्दयी हुन सक्छन् भन्ने आजसम्म पनि विश्वास गर्न सक्दिनँ। आन्दोलनकारीहरूलाई कसैले भड्काएको हुन सक्छ, तर पेट्रोल बोकेर आएका तिनीहरूले कस्को घर जलािरहेका थिए भनेर राम्रैसँग जान्थे। तिनीहरूलाई भित्र रहेका जीवनको कुनै ख्याल थिएन। तिनीहरू त शीत रगतका हत्यारा भएर आएका थिए।
मेरो बाबुले आफ्नो यात्रा पुर्खौली घरमै पुराना मोटरसाइकल किनबेच, सफा गर्ने, सर्भिस गर्ने कामबाट सुरु गर्नुभएको थियो। त्यहीँबाट ३० वर्षको संघर्षपछि उहाँले एउटा साम्राज्य खडा गर्नुभयो, जुन उचाइमा थोरै मात्र मानिस पुग्न सक्छन्। उहाँ पोखराबाट ल्ब्म्ब् (नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन) का पहिलो अध्यक्ष समेत बन्नुभयो। भूकम्पको बेला आफ्नै ज्यान जोखिममा पारेर देशभर राहत वितरण गर्नुभएको थियो, कोभिडको समयमा एम्बुलेन्सहरू दान गर्नुभयो, असंख्य विद्यार्थीलाई छात्रवृत्ति दिनुभयो-हाम्रो परिवारलाई नै कठिन समयमा पनि अरूलाई सहयोग गर्न अघि सर्नुभयो। हामी कहिलेकाहीँ उहाँलाई किन अरूलाई बाँड्नुहुन्छ भनेर रिसाउँथ्यौं पनि। यस्ता मानिस-यस्तो परिवार-को सपना, पसिना, र बलिदानहरू एकै रातमा खरानी बनाइयो भने त्यो केवल वित्तीय क्षति मात्र होइन, आत्मामा परेको गहिरो घाउ हो। आगोले भित्ताभरि, फर्निचर मात्र जलाएको थिएन, परिवारको सपना र दृष्टि पनि जलेर गयो। र किन? किनभने मेरो बाबुको दाजु राजनीतिज्ञ हुनुहुन्छ-त्यो पनि मैले देखेअनुसार आजसम्म असंक्रमित, इमान्दार नेतामध्ये एक। यो म परिवारका कारण मात्र नभनी सत्यकै आधारमा भनिरहेको हुँ। आधा मानिसहरू तर्क गर्नेछन् तर सत्य यही हो। के सफल हुनु नेपालमा अपराध हो? के यहाँ बसेर, जोखिम लिएर, सिर्जना गरेर, देशमै केही गर्न खोज्नु गलत हो? म आफ्ना परदेशी साथीहरूलाई सधैं नेपाल फर्क, नेपालमै लगानी गर, सँगै केही गरौँ भन्थें। तर आज, म तिनीहरूलाई के भनूँ?
म तिनमध्ये हुँ जो आफ्नो नजिकका मानिसलाई केही भए तुरुन्तै आवेगमा आउँछु, तर जीवनमा पहिलो पटक म यति असहाय भएको छु। मेरो बाबु, आमा, र भाइ आफ्नै आँखाले हाम्रो घर जलिरहेको देखिरहेका थिए, र म उनीहरूलाई देखिरहेको थिएँ। तर म केही गर्न सकिनँ। थप पीडादायी कुरा-जब केही असल मानिसहरूले खुलेर आन्दोलनकारीहरूले गरेको काम गलत थियो भन्छन्, अरू केही मानिसले भने हाम्रो घर र व्यवसाय “भ्रष्टाचारको पैसाले” बनेको भन्ने आरोप लाउँछन्। के साँच्चै त्यस्तो थियो? मलाई लाग्छ ती आरोप गर्नेहरू आफैंलाई विश्वास छैन, तर केवल हाम्रो सफल जीवनशैलीसँग ईष्र्या गर्ने वा राजनीतिक प्रभावले गर्दा यस्ता कुरा भन्दछन्। हाम्रो परिवारले बनाएको सम्पत्ति जोखिम, निद्राविहीन रात, संघर्ष-जसलाई अरूले सामना गर्नै सक्दैनन्-बाट बनेको हो। यो कथा केवल हाम्रो मात्र होइन, सयौँ निजी व्यवसाय, स्टार्टअप, र व्यक्तिगत जीवनहरूको हो जुन एकै रातमा ध्वस्त पारियो।
तर हरेक खराब कुरामा केही राम्रो पक्ष पनि हुन्छ। यस घटनाले हामीलाई वास्तविक रूपमा हेरचाह गर्ने, सम्मान गर्ने मानिसहरू को हुन् भनेर चिन्न सक्ने अवसर दिएको छ। यस अँध्यारो घडीमा हाम्रो साथमा उभिएर समर्थन गर्ने, प्रोत्साहन दिने सबैप्रति धन्यवाद। हामी कहिल्यै बिर्सने छैनौँ। तपाईंहरूको दयालुता सधैं हाम्रो हृदयमा रहनेछ। हो, हाम्रो घर गयो। हाम्रो अफिस ध्वस्त भयो। तर हाम्रो इच्छाशक्ति गएको छैन। हाम्रो सपना गएको छैन। र नेपालप्रतिको हाम्रो प्रेम अझै बाँचिरहेको छ-जसलाई आज धेरैले गुमाउनेछन् होला। यो भनिएको Gen-z क्रान्ति वास्तवमा राजनीतिक स्वार्थ र व्यक्तिगत ईष्र्याले प्रेरित भएकोले देशलाई २० वर्ष पछाडि धकेलेको हुन सक्छ, तर हामी फेरि लड्नेछौं, फेरि उभिनेछौं, फेरि उठ्नेछौं।
मेरो बाबुले व्यवसाय हस्तान्तरण गरेर, नयाँ सुरू गर्न सहयोग गरेर मलाई धेरै अवसर दिनुभयो। तर सबैभन्दा महत्वपूर्ण शिक्षा उहाँले कहिल्यै शब्दमा भन्नुभएन-तर आफ्नै जीवनशैलीद्वारा सधैं देखाउनुभयो-मजबुत रह, कहिल्यै आशा नहराउ, र परिस्थिति जस्तोसुकै भए पनि तनाव नलिऊ। हाम्रो सम्पत्ति खरानी भएको छ। तर हाम्रो आत्मा अझ बलियो भएर जलिरहेको छ। र कुनै पनि आगोले यसलाई नष्ट गर्न सक्दैन।