सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीले आफ्नो जीवनका कीमती ६ वर्ष छाउगोठको अँध्यारो, चिसो र तिरस्कारमा बिताए—कसैले नचाहेको पीडा सहेर, चुपचाप। कारण थियो—गाउँलेहरूलाई लागेको अन्धविश्वास ः उनलाई कुष्ठरोग लागेको हो।
गाउँलेहरूका नजरमा उनी ‘अछुत’ ठहरिए। परिवारले साथ दिन चाहँदा पनि सामाजिक दबाब, डर र त्रासले उनीहरू लाचार भए। अन्ततः घरभन्दा टाढा, एक्लो छाउगोठ नै धनवीरेको आश्रय बन्यो। वर्षौंदेखि उपेक्षा, भोक, चिसो र पीडाबीच बाँचिरहेका धनवीरेलाई अब भने उद्धार गरिएको छ।
शनिबार जिल्ला प्रशासनको सक्रियतामा एम्बुलेन्ससहितको स्वास्थ्य टोली गाउँमै पुग्यो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा र स्वास्थ्य सेवा कार्यालयको व्यवस्थापनमा उनलाई अस्पताल ल्याइएको हो।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार, “धनवीरेको प्रारम्भिक परीक्षणबाट कुष्ठरोग नरहेको पुष्टि भइसकेको छ। तर अन्य रोगबारे यकिन गर्न थप परीक्षण भइरहेको छ।”
उनी हाल जिल्ला अस्पताल सिमकोटमा उपचाररत छन्। अस्पतालले उनको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ। डा. तिवारीका अनुसार, कामीको खुट्टा चल्दैन, औंलाहरू बाङ्गिएका छन्, हिँड्न कठिन छ—तर यो कुष्ठरोग होइन।
गाउँले र आफन्तको गलत धारणाले उनी ६ वर्षसम्म समाजबाट बहिष्कृत जीवन बाँच्न बाध्य भए। भाइहरूले पालैपालो पुगेर खान दिने, रेखदेख गर्ने गरे पनि त्यो मानव जीवनको योग्य वातावरण थिएन।
“हामीले घरमै राख्न खोजेका थियौं, तर गाउँलेहरू अड्कल गरेर डराउँथे। अब उनलाई अस्पतालमा राख्दा एक किसिमको राहत महसुस भएको छ,” उनका आफन्त जसपाल कामीले सुनाए।
छाउगोठ जस्तो स्थान जहाँ महिनावारी भएका महिलाहरूलाई छुट्टै राखिन्छ, त्यहाँ एक वृद्ध पुरुषलाई रोग लागेको आशङ्कामा ६ वर्ष थुनिएको घटनाले समाजमा अझै गहिरिएको अन्धविश्वासको झल्को दिन्छ।