Skip to content

हिमालय क्षेत्रमा सूक्ष्मजीवः जलवायु परिवर्तनसंग अन्तरसम्बन्ध

हिमालय क्षेत्र पृथ्वीको सबैभन्दा संवेदनशील पारिस्थितिकीय क्षेत्रहरूमध्ये एक हो । उच्च उचाइ, धेरै चिसो मौसम र भौगोलिक विविधताका कारण यस क्षेत्रको जलवायु विशिष्ट छ । यहाँ वातावरणीय सूचकमा आएको सानो परिवर्तनले मानव समुदाय, जैविक विविधता र जल प्रणालीमा गहिरो प्रभाव पार्न सक्छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले निस्कर्ष निकालेका छन् । हिउँ तीब्र गतिमा पग्लँदै गएको हुनाले नदी बहाव, भू–आकृति, र स्थानीय समुदायको जीवनशैलीमा परिवर्तन ल्याएको छ ।
हिमाली क्षेत्रको जलवायु प्रणालीमा मनसूनको समयमा र पश्चिमी हावाको मुख्य भूमिका रहन्छ । भारतिय मनसुन दक्षिण एसियाली मौसम प्रणालीको महत्त्वपूर्ण हिस्सा हो, जसले हावा, आद्र्रता, तथा वातावरणीय जैविक तत्वहरूको संरचनामा परिवर्तन ल्याउँछ ।

दक्षिण एसियाबाट हिमालय क्षेत्रमा प्रदूषकहरू मनसूनको माध्यमबाट आइपुग्छन् भन्ने कुरा धेरै अनुसन्धानहरूले देखाएका छन् । तर, सूक्ष्मजीवहरू र मनसूनबीचको अन्तर सम्बन्धबारे विस्तृत अध्ययन खासै भएको पाइदैन ।

हिमालय क्षेत्रमा सूक्ष्मजीवहरूको जैविक असर
कालो कार्बन, तथा हावाले उडाएको खनिजको धुलो हिमनदी तथा हिउँपत्रमा जम्मा हुन्छन् । यी कणहरूले हिमनदीको सुर्यको किरण फिर्ता गर्ने क्षमता (Snow albedo) घटाउने भएकाले अधिक गर्मी अवशोषण भई पग्लिने दर वृद्धि गराउदर्छ । यसले हिमनदीको संरचना असर पारी जलचक्रमा प्रत्यक्ष प्रभाव पार्छ ।
जलचक्रलाई प्रभाव पार्ने अर्को कारण सूक्ष्मजीवहरूको उपस्थिति हो । हिमनदीय पारिस्थितिकीय प्रणालिमा विविध सूक्ष्मजीवका समुदायहरू बस्छन्, जसको प्रचुरता र विविधता भौतिक–रासायनिक परिस्थितिहरूद्वारा निर्धारण गरिन्छ । हिमनदी सतहमा जैविक तत्वहरूको उपस्थितिले हिउँको परावर्तनशीलता (Snow albedo) घटाउँछ, जसले गर्दा हिमनदी पग्लने दर बढ्छ ।

हिमनदीमा कार्बन निक्षेपण, जैविक गतिविधि,

र सूक्ष्मजीवहरूको प्रभावको गहन अध्ययन आवश्यक छ 

चिसो वातावरणमा अनुकूलित सूक्ष्मजीवहरूले हिमनदीमा रहेका पोषक तत्वहरू उपयोग गर्छन्, अनि आफैले अन्य तत्वहरू उत्पादन गर्छन । सूक्ष्मजीवहश्रले उत्पादन गरेको तत्वले परावर्तनशीलता घटाएर हिमनदीको पग्लिने प्रक्रिया तीव्र बनाउँछ । यो प्रक्रिया लाई बैज्ञानिक भाषामा बायो–अल्बेड़ो (Bio-albedo) भनिन्छ । हिउँ र हिमनदीमा बस्ने सूक्ष्मजीवहरूले उत्पादन गरेको जैविक पदार्थले प्रकाश–अवशोषक हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएको छ । विशेष गरी साईनोब्याक्टेरिया (Cyanobacteria) र शैवाल (Algae) ले प्रकाश संश्लेषण गरी जैविक पदार्थ उत्पादन गर्छन् । जसले विषमपोषी (Heterotroph) सूक्ष्मजीवहरूको जीवनयापनमा सहयोग पु¥याउँछ ।

यी सूक्ष्मजीवहरू प्रायः खनिज कणहरू र जैविक पदार्थहरूसँग मिलेर ‘क्रायोकोनाइट’ (cryoconite) नामक कण समूह बनाउँछन् । क्रायोकोनाइटले हिमनदीको सतहमा जमेर थप परावर्तनशीलता घटाउँछ र हिमनदीको पग्लिने गति बढाउँछ । वैज्ञानिकहरूका अनुसार, क्रायोकोनाइट कणहरू हिमनदी पारिस्थितिकी तन्त्रमा सूक्ष्मजीवहरूको विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यसकारण, हिमनदीमा कार्बन निक्षेपण, जैविक गतिविधि, र सूक्ष्मजीवहरूको प्रभावको गहन अध्ययन आवश्यक छ । वातावरणीय परिवर्तनसँगै हिमनदीको संरक्षणका लागि यी कारकहरूको वैज्ञानिक अनुसन्धानले दिगो समाधान दिन सक्नेछ । यी तत्वहरूले हिमनदी सतहको तापक्रम बढाउँछन्, जसले गर्दा पग्लने गति तीव्र हुन्छ ।

सूक्ष्मजीवहरूको उत्पत्ति, प्रवाह मार्ग, र मनसूनसँगको सम्बन्ध
रसाइनिक प्रदुषक मात्र नभई मनसूनसंग विभिन्न स्रोतबाट सूक्ष्मजीवहरू लामो दूरी पार गर्दै हिमालयमा पुग्छन् । वैज्ञानिकहरूका अनुसार, बंगालको खाडी र अरब सागरबाट आएको समुद्री मनसुन आद्र्रतासँग मिसिएर जैविक तत्वहरू हिमालय क्षेत्रमा पुग्ने गर्छन । त्यसैगरी, इन्डो–गाङ्गेटिक समथर (Indo–Gangetic Plain) क्षेत्रका नदी, कृषि, तथा सहरी क्षेत्रबाट आएका सूक्ष्मजीवहरू वायुप्रवाहसँगै लामो दूरीको यात्रा गरेर हिमालय क्षेत्रमा पुग्छन् जसको जलबायु परिबर्तन संग प्रतक्ष्य सम्बन्ध हुन्छ ।

क्रायोकोनाइटको भूमिका
हिमनदीय सूक्ष्मजीवहरू प्रायः खनिज कणहरू र जैविक पदार्थहरूसँग मिलेर क्रायोकोनाइट नामक समूह बनाउँछन्, जसले हिमनदी सतहको परावर्तनशीलता घटाउन सक्छ । प्रकाश प्रयोग गरेर आफै खान बानउने साइनोब्याक्टेरिया, शैवाल जस्ता जीवहरूले प्रकाश संश्लेषणमार्फत जैविक पदार्थ उत्पादन गर्छन् । हिमनदी पारिस्थितिकी तन्त्रका प्राथमिक तत्वहरु उत्पादन गर्छन जुन विषमपोषी (Heterotrophic) सूक्ष्मजीवहरूले खानाको रूपमा प्रयोगगरी हिमालय क्षेत्रमा आफ्नो जिबन यापन गर्छन ।

पर्यावरणीय असरहरू

  • हिमाली स्थानीय जैव विविधतामा प्रभावः नयाँ सूक्ष्मजीवहरूको आगमनले मौलिक जैविक समुदायसँग प्रतिस्पर्धा बढाउँछ, जसले वातावरणीय असन्तुलन ल्याउन सक्छ ।
  • हिमनदी पग्लिने दर तीव्र हुनुः जैव–परावर्तनीयता (Bio–albedo) घट्दै जाँदा हिमनदी पग्लने दर बढ्छ, जसले जल स्रोतहरूमा असर पार्छ ।
  •  वायुमण्डलीय चक्रमा असन्तुलनः वायुप्रवाहमार्फत आएका सूक्ष्मजीवहरूले बादल निर्माण तथा पानीको चक्रमा असर पार्न सक्छन् ।
  • स्थानीय र बाह्य जैविक मिश्रणः बाह्य क्षेत्रबाट आएका सूक्ष्मजीवहरूले स्थानीय जैव विविधतामा नयाँ परिवर्तन ल्याउने सम्भावना रहन्छ ।
  • मानवजनित प्रभावः कृषि मल, कीटनाशक, तथा उद्योगबाट निस्किएका प्रदूषक तत्व र जिवाणुहरू वायुप्रवाहमार्फत हिमालय क्षेत्रमा पुग्न सक्छन् ।

निष्कर्ष

लामो दूरीका वायुप्रवाहद्वारा आएका सूक्ष्मजीवहरूले

जलवायु परिवर्तन प्रक्रियालाई तीव्र बनाउँछन्

भारतिय मनसुनको प्रभाव हिमालय क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन्छ । लामो दूरीका वायुप्रवाहद्वारा आएका सूक्ष्मजीवहरूले जलवायु परिवर्तन प्रक्रियालाई तीव्र बनाउँछन् । सूक्ष्मजीवहरूको प्रवाह, उत्पत्ति, र प्रभाव बुझ्न सकेमा जलवायु परिवर्तनसम्बन्धी नीति निर्माणमा सहयोग पुग्नेछ । वैज्ञानिकहरूले मेटाजेनोमिक अनुक्रमण प्रविधि (Metagenomic Sequencing) तथा जलवायु मोडेलिङ प्रविधि प्रयोग गरी यी सूक्ष्मजीवहरूको विस्तृत अध्ययन गरिरहेका छन् । भविष्यका अनुसन्धानहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दीर्घकालीन उपायहरू पहिचान गर्न मद्दत गर्नेछन् । हिमालय क्षेत्रको वातावरणीय भविष्य संरक्षण गर्न सूक्ष्मजीवहरूको प्रवाह र उत्पत्तिको वैज्ञानिक अध्ययन, नीति निर्माण, तथा वातावरणीय सचेतना महत्त्वपूर्ण हुनेछ ।

मुख्य सन्देशहरू

  • वायुमण्डलको प्रभावः हिमनदीहरूमा हावाबाट आउने सूक्ष्मजीवहरूको वायुप्रवाहले निर्देशित गर्छ ।
  •  मनसुनको भूमिकाः मनसुनले हिमनदी क्षेत्रमा हावामा रहेका सूक्ष्मजीवहरूको विविधता उल्लेखनीय रूपमा वृद्धि गर्छ ।
  • विभिन्न वायुप्रवाह, भिन्न जैविक समुदायः भारतिय मनसुन र पश्चिमी वायुले पृथक सूक्ष्मजीवहरूको समुदायहरू बोकेर हिमालयमा ल्याउँछ, जसले क्षेत्रीय जैव विविधतामा फरक प्रभाव पार्छ ।
  •  रोगजनक सूक्ष्मजीवहरूको उच्च सम्भावनाः भारतिय मनसुनले तुलनात्मक रूपमा बढी मात्रामा सम्भावित रोगजन्य सूक्ष्मजिव ल्याउन सक्छ, जसले पारिस्थितिकी प्रणाली र मानव स्वास्थ्यमा असर पार्न सक्छ ।

लेखक डा. नमिता पौडेल चीनको लान्झोउ विश्वविद्यालयमा अनुसन्धानकर्ता छन् 

(Center for Pan–Third Pole Environment, Lanzhou University, China)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x