काठमाडौँ । यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण कहिले धेरै पानी पर्ने त कहिले पर्दै नपर्ने भइरहेको विज्ञहरूले बताइरहेका छन् । जसका कारण वातावरणसँगै समग्र पारिस्थितिक प्रणालीमै असर पाने सक्ने उनीहरूले बताउन थालेका छन् ।
नेपालका अधिकांश कृषि क्षेत्र आकाशेपानीमै निर्भर भएकाले पर्याप्त हिउँदे वर्षा अति नै आवश्यक छ । तर पानी नै नपर्दा सबैभन्दा ठूलो मार कृषकलाई परेको छ । जसका कारण कृषि उत्पादनमा पूर्णतया असर परेको छ ।
अहिले किसानका खेतबारीमा गहुँ, तोरी र तरकारीजन्य बालीहरू छन् । यस्तोमा चाहिँदो मात्रामा वर्षा नहुँदा उत्पादनमा निकै ठूलो असर पर्छ भने अर्कातिर वायु प्रदूषण र डढेलोजस्ता समस्याहरू पनि बढ्ने गर्छन् । साथै विद्युत् उत्पादनमा पनि कमी आउँछ ।
पानी नहुँदा खेती–चक्र नै बिथोलिने, जमिनमा पानीको सतह घट्दै जाने, वन्यजन्तु अन्यत्र सर्नेलगायत जैविक विविधतामै प्रभाव पर्ने कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् । ‘हाम्रो खेती मौसममा भर पर्नुपर्ने खालको छ, पर्याप्त वर्षा नहुँदा बाली–चक्रमा असर पर्छ,’ उनले भने ।