सम्पादकीय –
विगतमा हाम्रा पुर्खाले ‘एकल थुकी सुकी सयले थुकी नदी’ भन्ने गर्थे । धेरै जना मिलेर समूहमा उही काम गर्दा त्यसले राम्रो परिणाम दिन्छ, जबकि एक्लै त्यो काम गर्ने हो भने त्यो कतै हराउँछ भन्ने आशय यो पङ्क्तिले दिन्छ । सामूहिकतामा नै बल हुन्छ भन्ने आशय यसले दिन्छ । यी भनाइले वर्तमानको सहकारिताको प्रतिनिधित्व गरेका छन् ।
२०१० सालमा सहकारीकै व्यवस्थापन गर्न भनी सहकारी विभाग गठन भएको हो । २०१३ सालदेखि सहकारी दर्ता हुन थालेको पनि हो । २०४८ मा पहिलो सहकारी ऐन जारी भयो । यसपछि सहकारी जन्मने व्रmम बढेको हो। हाल नेपालमा ३१ हजार ४५० सहकारी रहेको र यसमा ८३ लाख ८१ हजार २१८ जना आबद्ध रहेको छ । साना, ठुला सबै खाले सहकारीमा ९४ अर्ब १५ करोड सेयर पुँजी लगानी गरिएको छ । यसरी हेर्दा एक सहकारी बराबर ९४६ जना नेपाली आबद्ध रहेको देखिन्छ । यो सङ्ख्या कुल जनसङ्ख्याको झन्डै २५ प्रतिशत हो । विभिन्न प्रयोजनका लागि ऋण लिनेमध्ये १८ प्रतिशत जनसङ्ख्याले सहकारीबाटै ऋण लिने गरेको देखिन्छ ।
आज सहकारीको नियमित अनुुगमन र निरीक्षण नहुँदा कैयौँ सहकारी बाटो बिराएका छन् । सहकारीभित्र सुशासनको अभाव देखिँदै छ । सदस्य र सहकारीबिचको सम्बन्ध हार्दिक छैन । व्यवस्थापन र सञ्चालकमा एकै व्यक्ति देखिन थालेका छन् । संस्था स्वनियमनमा छैनन् । भनिन्छ, सहकारी दुःखबाट सुरु हुन्छ, नहुनेलाई पोल्टो भरिदिन्छ । यो पवित्र उद्देश्यबाट स्थापित सहकारीमा आज मात्र होइन, विगतदेखि नै समस्याग्रस्त देखिन थालेको हो । सहकारीको मर्मविपरीत गैर सदस्यबाट पनि बचत र ऋण कारोबार गरिएको छ । सञ्चालकसँग पैसाको तुजुक छ, सहकारीको साक्षरताको पनि ज्ञान छैन । आफन्तलाई बिनाधितो÷कम धितोमा बढी लगानी गरिएको छ ।
यद्यपि सबै सहकारी सङ्कटग्रस्त छैनन् । केही सहकारीका कारण राम्रा पनि घानमा परेका मात्र हुन् । यसको मूल कारण संस्था दर्ता गर्ने तर अनुगमन गर्न नसक्नु नै हो । नेपालमा धेरै जसो सहकारी सहकारी भावना र आधार मूल्यबाट विषयान्तर भई सहकारी अभियानमाथि नै प्रश्न खडा गर्नेतर्फ गइरहेको भान हुन्छ । तसर्थ आगामी दिनमा कडाइका साथ अनुुगमन हुन जरुरी छ ।