साइकल सिटी पोखराले हरेक वर्ष ‘टुर दी पोखरा’ को आयोजना गर्ने गरेको छ । पर्यटनको विकासमा जोड दिँदै सामाजिक सेवाहरु गर्दै आएको पोखरा महानगरमा छुटै आफ्नो पहिचान बनाउन सफल ‘साइकल सिटी पोखरा’ को मुख्य उद्देश्य भनेको ‘स्वास्थ्य वातावरण र पर्यटन’ हो । हिजोका दिनमा साइकललाई गरिबको सवारी साधन मानिन्थ्यो । तर, आजकल साइकल चढ्नुलाई स्वास्थ्य र वातावरणसँग जोडेर हेर्ने गरिन्छ । साइकल चड्नुपर्छ भन्ने जनचेतनाको कमीले गर्दा नै होला कतिपय मानिस मुटु रोग, रक्तचाप, मधुमेह आदि जस्ता रोग लागेको थाहा पाएपछि मात्रै साइकल चढ्न सुरु गर्ने गर्छन् । साइकल वातावरणमैत्री यातायातको साधन भएकोले, स्वास्थ्य र वातावरणप्रति सजग हुनेहरुले साइकलको प्रयोग गरिरहेका मात्रै छैनन् कि समाजमा सबैले साइकलको प्रयोग गर्नुपर्छ भन्ने चेतना छर्ने कामसमेत गरिरहेका छन् । यसैको एउटा पाटो हो ‘टुर दी पोखरा’ । बिरामी भएर डाक्टर, औषधी र अस्पातलमा गरिने खर्च बच्ने जस्ता अनेकै फाइदाहरु छन् । त्यस्तैगरी वायु प्रदुषण, ध्वनी प्रदुषणमा न्युनीकरण गर्न, पर्यावरण प्रदुषित हुनबाट बचाउन र वातावरण सफा सोच्छ राख्न साइकल प्रयोगले अहम भूमिका खेलेको हुन्छ ।
पर्यटन प्रवद्र्धनका लागि पोखरामा ‘टुर दी पोखरा २०१८’ हुँदैछ । यही पुस १३ गते सातौं संस्करणको ‘टुर दि पोखरा’ साइकल र्याली हुन लागेको छ । स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल मूल नारासहित साइकल सिटीले साइकल यात्रीको सहभागितामा र्याली गर्न लागेको हो । साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ । साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । टुर दी पोखरालाई पोखराको एक खालको ब्रान्ड समेत बन्न पुगेको छ । यो कार्यक्रमले सहरलाई साइकल सिटीका रुपमाअघि लैजान पनि प्रयास गरेको छ ।
सन् २०४० सम्ममा साइकललै साइकलको देश भनी चिनिने नेदरल्यान्डमा स्वास्थ्य, वातावरण र पर्यटनका लागि डिजेल र पेट्रोलबाट चल्ने सवारी सााधन बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै सन् १९०३ मा ३५ जनाबाट सुरु भएको टुर दी फ्रान्स जसले देशलाई चिनाउनुको साथै देशको अर्थतन्त्रमा काँचुली फेर्यो । साइकलको प्रयोगले व्यक्तिगत स्वास्थ्यमा फाइदा हुनुको साथै आर्थिक–सामाजिक रुपमा देश, समाज र जनतालाई सिधै फाइदा पुर्याउँछ । वातावरण संरक्षण हेतु सरकारले समेत विद्युतीय इन्जिनलाई कर छुटको व्यवस्था गरेको छ । यदि सरकारले नै हप्तामा १ दिन साइकल मात्रै चलाउन बाध्यतात्मक नियम लगाउन सक्यो भने वातावरणको संरक्षण, पेट्रोलियम पदार्थमा गरिने खर्च जोगिने, जनताको स्वास्थ्यमा सुधार लगायत थुप्रै फाइदाहरु सरकारलाई प्रत्यक्ष र परोक्ष रुपमा हुने देखिन्छ ।