Skip to main content

Nidan Media

भारतीय समकक्षी मोदीसँग बालेनको भेट, नेपाल-भारत सम्बन्धमा नयाँ दिशा देला?

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणको दोस्रो तथा अन्तिम दिन उच्चस्तरीय भेटवार्ता, समझदारीपत्र आदानप्रदान र संयुक्त प्रेस वक्तव्यलगायत कार्यक्रम तय भएका छन्।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ। भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, जलविद्युत्, पूर्वाधार र हवाई सम्पर्कलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यी विषयमा हुने सहमति र त्यसको कार्यान्वयनले दुई देशबीचको आगामी सम्बन्धलाई प्रभाव पार्नेछ।

सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गरिएको थियो। त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने र अपराह्न ४ः५० बजे स्वदेश फर्कने उनको कार्यतालिका छ।

आइतबार भारत पुगेका शाहले पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। भारतका प्रधानमन्त्रीको निमन्त्रणामा भएको यो शाहको प्रधानमन्त्रीका रूपमा पहिलो द्विपक्षीय भारत भ्रमण हो। त्यसैले यसलाई औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित नराखी नयाँ सरकारको विदेश नीति र छिमेकी सम्बन्धको प्राथमिकता बुझ्ने अवसरका रूपमा पनि हेरिएको छ।

नेपाल र भारतबीच खुला सीमा, व्यापार, पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धका कारण सहकार्यका धेरै सम्भावना छन्। तर सीमा विवाद, व्यापार तथा पारवहनका अवरोध, हवाई मार्ग र ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनजस्ता विषयमा नेपालका आफ्नै चासो र अपेक्षा छन्। ती विषयमा स्पष्ट धारणा राख्दै पारस्परिक हितका आधारमा सहमति खोज्नु नेपालको कूटनीतिक प्राथमिकता हुनुपर्छ।

भारत नेपालको प्रमुख व्यापारिक साझेदार र विकास सहयोगको महत्त्वपूर्ण स्रोत भएकाले सम्बन्ध सुदृढ गर्नु नेपालको हितमा छ। तर सहकार्यको मूल्याङ्कन भ्रमणका क्रममा भएका भेटघाट र घोषणाबाट मात्र गर्न मिल्दैन।

सम्झौताले व्यवहारमा कस्तो परिणाम दिन्छन्, नेपाली पक्षका प्राथमिकता कति समेटिन्छन् र सहमति समयमै कार्यान्वयन हुन्छन् भन्ने विषय महत्त्वपूर्ण हुन्छ।

प्रधानमन्त्री शाहको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ संवादको आधार तयार गर्ने अवसर दिएको छ।

अब यसको उपलब्धि संयुक्त वक्तव्यका शब्दमा होइन, नेपालले उठाएका विषयमा प्राप्त ठोस परिणाम र नागरिकले अनुभव गर्ने परिवर्तनमा देखिनुपर्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.