Skip to main content

Nidan Media

विपत्तिमा परेकाको पीडामा मलम लगाउँदै दशैँ मनाउन कांग्रेस सभापति थापाको आग्रह

काठमाडौँ। नेपाली कांग्रेस सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दुःखमा परेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन आग्रह गरेका छन्।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन्।

उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराख्न आग्रह गरेका हुन्।

दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्नुपर्नेमा उनले जोड दिएका छन्।

थापाले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामनासहित विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।

यस्तो छ गगन थापाको शुभकामना

विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

यस पावन पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।

यो विजयादशमीले हामी सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्।

सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना।

शुभ विजयादशमी!

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.