पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रीय सभापति सरोज केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस रुपा गाउँपालिका-७ को आयोजित दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै ‘कांग्रेस २.०’ को अवधारणाअनुसार गुटरहित, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा सभापति केसीले जोड दिए।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएर अब संगठन सुदृढीकरण र जनताको विश्वास जित्ने अभियानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
उनले आन्तरिक प्रतिस्पर्धाका कारण उत्पन्न असमझदारीलाई निरन्तरता दिनुभन्दा सबैलाई समेटेर संगठन बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए।
केसीले पार्टीलाई गुटगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै सबै नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणमा केन्द्रित हुन आग्रह गरे।
पार्टीभित्रको एकता बलियो भएमात्रै जनतामाझ कांग्रेसको प्रभाव र विश्वास विस्तार गर्न सकिने उनको धारणा थियो।
सभापति केसीले संगठनात्मक क्षमता बढाउने, आपसी सम्बन्ध सुदृढ गर्ने र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने काम अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।
युवा नेता तथा महाधिवेशन प्रतिनिधि दीपक गुरुङले कांग्रेस हरेक हिसाबले बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू नवीनबाबु पौडेल, नारायणकुमार श्रेष्ठ, खेमबहादुर गुरुङ, दिनेश पौडेल, कृष्ण केसी(नागिला), गंगा गुरुङ, चन्द्रप्रकाश गुरुङ, विष्णु गुरुङ, नवराज ओझा, रेशम गुरुङ, सन्तोष न्यौपाने, धनेश्वर न्यौपाने, रूमबहादुर खवास, युवराज गुरुङ, पार्वती भुजेल, दयासागर सुवेदी, गाउँपालिका सभापति विमलबाबु न्यौपानेलगायतले बोलेका थिए।
उनीहरूले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न आपसी एकता, सहकार्य र जनताप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
कांग्रेस रुपा-७ का सभापति अर्जुन श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो।





