काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकका कुरा सुन्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले वरिष्ठ उपसभापति र महामन्त्रीहरूले पार्टीको दैनिक काम सम्हाल्ने योजना सुनाए।
थापाले बीपी कोइराला र गणेशमान सिंहको पालाका मुद्दाले मात्रै आजको समाजका आवश्यकता सम्बोधन गर्न नसक्ने बताए। रोजगारी, वैदेशिक पलायन, सुशासन, आर्थिक विकास, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौती समाधान गर्न ‘समुन्नति’ को अवधारणा अघि सारे।
सामाजिक सञ्जालमा रिल्सको पछि मात्र नलागी छलफल, बहस र चिन्तनबाट समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै थापाले व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताए।
व्यक्तिको गलत कामको बचाउ नगरी पार्टीमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा उनले जोड दिए।





