पोखरा । पोखरा महानगरपालिका वडा नं १८ अँधेरीकुनामा घरको जग खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका-७ का ३७ वर्षीय राजु कुमाल छन् ।
पुरिएर गम्भीर घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
अँधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका अवस्थामा माटोको ढिस्को खसेर उनीहरू पुरिएका थिए।
घटनालगत्तै वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोली तथा स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो।




