Skip to main content

Nidan Media

तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा युवक पक्राउ

काठमाडौँ। प्रहरीले तीन करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने २२ वर्षीय बिक्कीकुमार महतो रहेका छन्।

महतो माइतीघरस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा बुधबार साँझ फेला परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले सोधपुछ तथा चेकजाँच गर्दा उनले वान एक्स वेल्टर माेवक्यास एप्लिकेसनमार्फत सट्टेबाजी तथा अनलाइन जुवा गर्ने/गराउने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोले यूएसआइडीलगायत अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को समेत कारोबार गर्दै आएको र हालसम्म तीन करोड ३८ लाख आठ हजार तीन सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ।

प्रहरीले उनको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ।

महतोविरुद्ध अभौतिक मुद्रा र सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.