Skip to content

महाकुम्भ मेला र भाइरल मोनालिसा भोन्सले

काठमाडौं । अहिले भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाका क्रममा थुप्रै व्यक्तिहरू भाइरल बनिरहेका छन् । त्यसमा पनि बढी चर्चा साधु बाबाहरूको छ । सर्वसाधारणसँग कुरा गर्ने शैली, दिने शिक्षा र उनीहरूसँग भएको ज्ञानले गर्दा उनीहरू चर्चामा आइरहेका छन् । साधु बाबासँगै अन्य व्यक्तिहरू पनि भाइरल भइरहेका छन् ।

भाइरल हुने मध्ये एक हुन् मोनालिसा भोन्सले । इन्दोरकी सामान्य माला बिक्रेता भोन्सले सामाजिक सञ्जालमा रूप र नामका कारणले चर्चामा छिन् । उनको अनुहार वैज्ञानिक लियोनार्डो दा भिन्चीले बनाएको मोनालिसासँग मिल्दोजुल्दो भएको भन्दै धेरैले भिडिओ खिचेका छन् । ती भिडिओ सामाजिक सञ्जालमा आएपछि सामान्य तरिकाले माला बेचेर जीविको पार्जन गरिरहेकी उनी भाइरल बनिन् ।

भोन्सलेको अनौठो सुन्दरता नै उनको चर्चाको मुख्य कारण हो । उनको गहुँगोरो वर्ण, आकर्षक आँखा र तीखो नाकले धेरैलाई लियोनार्डो दा भिन्चीको मोनालिसाको सम्झना गराएको छ । उनको रहस्यमय अभिव्यक्ति र स्पष्ट अनुहारको बनावटले मानिसहरूलाई मोहित बनाएको छ ।

मोनालिसाको जीवनमा परिवर्तन ल्याउने भिडियो त्रिवेणी संगममा माला बेच्दै गरेको अवस्थामा खिचिएको थियो । त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थाले । त्यसपछि उनको बारेमा चर्चा र बहससँगै हजारौं लाइकको बाढी आयो । चर्चाले क्षणिक फाइदा दिए पनि उनलाई त्यो चर्चा बोझ बन्न पुगेको छ ।

सामान्य जीवनयापनमा सङ्घर्ष गर्दै रमाइरहेकी उनी भाइरल बनेपछि धेरैले सेलिब्रेटीको ट्याग भिडाइदिएका छन् । जसले गर्दा उनीसँग सेल्फी खिच्न र भिडिओ बनाउन मानिसहरू आउन थाले । यसले गर्दा उनको माला बिक्रीमा कमी आएको छ । साथै मानिसहरू माला किन्नुको साटो उनीसँग फोटो खिच्न र भिडिओ बनाउनमा व्यस्त भए ।

फोटो खिच्ने नाममा सर्वसाधारणले उनलाई दुर्व्यवहार समेत गर्न थालेपछि भोन्सलेका बुबाले उनलाई घर फर्काई दिएका छन् । उनका बुबाले मिडिया असल जीवन वा जीविकोपार्जनका लागि उपयुक्त ठाउँ नभएको भन्दै आफ्नी छोरीलाई घर फर्काउन बाध्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडिओमा उनले मानिसहरू क्यामेरा तेर्साउँदै नआउन् भन्नका लागि आफ्नो अनुहार लुकाइरहेको समेत देखिन्छ । लावण्या बल्लाल जैनले एक्समा उक्त घटनाको भिडिओ शेयर गर्दै लेखेका छन्, “भारतीय पुरुषहरू कति घिनलाग्दा छन् ? मध्ये प्रदेशको एउटा गरिब परिवारकी एउटी युवती आफ्नो जीविका चलाउन माला बेच्न कुम्भ मेला गएकी थिइन् । तर पाप धुन गएका पापीहरू यति मोहित भए कि अब उनको परिवार आफ्नो जीविकोपार्जन धान्ने व्यवसाय बचाउन भिड हटाइरहेको छ ।” मोनालिसाले मेकअप गरिरहेको भिडिओ लगायत अन्य भिडिओहरू सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको सुन्दरताको प्रशंसा गरे पनि उनको व्यवसायमा परेको असरलाई कमैले मात्र ध्यान दिएको भन्दै भिडिओ खिच्नेहरूको आलोचना भइरहेको छ । सचिन गुप्ता नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, “सबै जना उनको फोटो खिच्दै छन्, तर उनको माला कसले किन्छ ?” यसले इन्टरनेटको चर्चाले कसरी आर्थिक रूपमा असर गर्छ भन्ने देखाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x