Skip to content

साहित्यकार समीपलाई प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कार

पोखरा । साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदान पुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो ।

लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनले विभिन्न साहित्यिक पत्रिकाहरूको पनि सम्पादनसमेत गरिसकेका छन् । मूलतः गजलकारका रूपमा परिचित उनी कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि सक्रिय छन् ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो । लमजुङ–पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापित सो पुरस्कारको राशि दश हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । आगामी मङ्सिर १५ गते शनिवार एक समारोहको आयोजना गरी साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x