काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, फरेरा ब्राजिलबाट कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं आएकी थिइन्। विमानस्थलमा प्रवेश गरेपछि उनको गतिविधि शंकास्पद देखिएकोले प्रहरी टोलीले निगरानी बढाएको थियो। त्यसपछि विस्तृत चेकजाँच गर्दा उनले बोकेको ब्राभित्र विशेष तरिकाले लुकाइएका १ केजी ९५० ग्राम कोकिन बरामद भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार, उनी नेपाललाई पारवहन मार्गका रूपमा प्रयोग गरी भुटान जान लागेकी थिइन्। नेपालबाट भुटान प्रस्थान गर्नुअघि नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं रुपैयाँ पर्ने अनुमान गरिएको छ। यस किसिमको लागुऔषध तस्करीमा अन्तर्राष्ट्रिय अपराधी समूह संलग्न हुने गरेकोले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ र काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।