तीन वर्षअघि सम्म गोठाला र पशुबाहेक प्रायः सुनसान देखिने ढोरपाटनको बुकीपाटन अहिले पर्यटकहरूको रोजाइ बन्दै गएको छ । वनफूलले सजिएको पाटन र गोठालाका गाईवस्तु चर्ने ठाँउ अहिले प्लास्टिक र सिसाले भरिँदै जान थालेको छ ।
ढोरपाटन नगरपालिका–९ पाखाथर हुँदै बुकीपाटन पुग्ने पदमार्गका छेउछाउ, डाँडा, खोला र पाटनसम्म बिस्कुट, चाउचाउका खोल, रेडबुल, पानीका बोतल, रक्सीका सिसा यत्रतत्र भेटिन थालेका छन् । यस्ता फोहोरले सौन्दर्य बिगार्ने खतरा देखिएको छ, पशुचौपायसमेत बिरामी पर्न थालेका छन् ।
स्थानीय गोठाला लोकबहादुर विश्वकर्माका अनुसार, पर्यटकले बोकेर ल्याएका प्लास्टिकका खोल चरन क्षेत्रमा फ्याँकिने गरेका छन्, जसका कारण गाईवस्तुले घाँस सँगै प्लास्टिक खाँदा तीनवटा भेडासमेत मरेका छन् । मरेका भेडाको गोबरमा प्लास्टिक भेटिएको उनले बताएका छन् ।
यसबारे होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले पनि चासो व्यक्त गरेका छन् । उनका अनुसार, हालसम्म पर्यटकलाई लक्षित गरेर कुनै मापदण्ड बनाइएको छैन, जसका कारण प्लास्टिकजन्य फोहोर बढेको हो । उनले सिकार आरक्ष र नगरपालिकालाई मिलेर व्यवस्थापनको स्पष्ट नीति बनाउन सुझाव दिएका छन् ।
बुकीपाटन आएका पर्यटकहरुले पनि फोहोरले बुकीपाटनको सौन्दर्य बिगार्न सक्ने भन्दै पर्यटक आफै पनि सचेत हुनुपर्ने धारणा राखेका छन् ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीका अनुसार, फोहोर व्यवस्थापनका लागि कर्मचारी पठाइए पनि प्रभावकारिता देखिएको छैन । सरसफाइ अभियान केही हदसम्म मात्रै सीमित रहँदा समस्या झन चर्किएको हो ।
फोहोर फ्याँक्ने प्रवृत्ति नियन्त्रण नभए निकट भविष्यमै बुकीपाटनको प्राकृतिक सौन्दर्य र चरन क्षेत्र गुम्ने खतरा प्रस्ट देखिन थालेको छ ।