काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी तथा समाजसेवी फुर्वा गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। संघको भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने निर्वाचनलाई लक्षित गर्दै शेर्पाले “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उम्मेदवारी घोषणाका क्रममा शेर्पाले संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित, हिमाल संरक्षण, उद्धार व्यवस्था सुधार र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय छवि प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।
माउन्टेन टुरिजम युनिभरसिटी स्थापना
शेर्पाले नेपालको पर्वतीय पर्यटनको दिगो विकासका लागि नेपालमै माउन्टेन टुरिजम युनिभरसिटी स्थापना गर्ने योजना अघि सारे। उनका अनुसार, हाल पर्वतारोहणसम्बन्धी उच्च अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश जान बाध्य छन्। “नेपालमा यस्तो विश्वविद्यालय खोल्न सकियो भने हजारौं युवाले यहीँ पढ्न पाउने छन्,” उनले भने, “तालिम पनि संसारकै अग्लो हिमाल सगरमाथामा गर्न पाइने भएकाले विदेशी विद्यार्थीहरू समेत आकर्षित हुनेछन्।”
आरोही कल्याणकारी कोष र उद्धारको सुधार
शेर्पाले सरकारद्वारा घोषणा गरिएको आरोही कल्याणकारी कोषलाई पूर्णता दिई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। साथै, हिमाली क्षेत्रमा स्थानीय रेस्क्यू टिम गठन गरी आवश्यक तालिम र उपकरणको व्यवस्थापन गर्ने बताए। उनले भने, “मौसम खराब हुँदा उद्धारमा ढिलाइ हुने समस्याको अन्त्यका लागि स्थानीय स्तरमै पूर्वतयारी आवश्यक छ।”
जलवायु परिवर्तन र संरक्षणमा स्थानीयको नेतृत्व
जलवायु परिवर्तनका नाममा सहरमा हुने खर्चिलो गोष्ठी कार्यक्रमप्रति आपत्ति जनाउँदै शेर्पाले संरक्षण कार्य सीधा प्रभावित क्षेत्रमै, स्थानीयसँग समन्वयमा गर्नुपर्ने धारणा राखे। “हिमाल जोगाउन पर्वतारोहीको ज्ञान र अनुभवलाई ध्यानमा राख्नुपर्छ,” उनले भने।
विश्व कीर्तिमानी आरोहीका लागि विषेश सुविधा
शेर्पाले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नेहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष सुविधा दिने व्यवस्था मिलाउने घोषणा गरे। “शिर ठाडो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो,” उनले भने, “त्यसैले कीर्तिमानीलाई सम्मान गर्न छुट्टै पहल गरिनेछ।”
फुर्वा गेल्जे शेर्पा को हुन्?
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका उनी सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य थिए। उनी संघको विदेश विभाग प्रमुख र रक्तदान तथा वालक्लाइमिङ कार्यक्रम संयोजक समेत रहे। उनले अध्ययन र व्यवसायसँगै हिमाली क्षेत्रमा उद्धार, संरक्षण र स्थानीय विकासमा लामो समय बिताएका छन्।
“जीवन पर्वतीय पर्यटनमै बित्यो, अब नेतृत्व गरेर परिवर्तन ल्याउने हो”
शेर्पाले अब बाँकी जीवन संघको नेतृत्व गर्दै पर्वतीय पर्यटनको सुधार र अन्तर्राष्ट्रियकरणमा समर्पित हुने बताउँदै भने, “अहिलेसम्म जे जति ज्ञान र अनुभव हासिल गरें, त्यो सबै संघको नेतृत्वमा लागू गर्न चाहन्छु।”