काठमाडौं । नेपाली कांग्रेसले आफूहरूलाई नैतिकताको कुरा नसिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो प्रश्न गरेका हुन् ।
अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएको समस्याबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सहसचिवसँग बयान लिएकै आधारमा गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको उनको भनाइ थियो । रास्वपाले गृहमन्त्रालयका अधिकारीहरू छानबिनमा तानिएकाले गृहमन्त्रीले छानबिनमा सघाउन समेत राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन् ।
गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागमा जवाफ दिँदै कांग्रेसका प्रमुख सचेतक घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेको भनेर प्रश्न गरेका हुन् । ‘पाँचरपाँच वटा अदालतमा सहकारी ठगी, संगठित अपराध एवं सम्पति सुद्धीकरणको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?,’ रवि लामिछाने सभापतिमा रहिरहने र रास्वपाले अरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनको आग्रह छ ।
प्रतिनिधि सभा सदस्यबाट लामिछाने निलम्बनमा रहेका छन् । प्रतिनिधि सभा सदस्य पदबाट निलम्बनमा रहेका व्यक्ति रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्ने पनि उनको प्रश्न छ ।