आध्यान्त फन्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको ‘डायल एक्सिलेटर : डिजिटल इनोभेशन इन एग्रिकल्चर एन्ड लजिस्टिक’ कार्यक्रमको ‘डेमो डे’ सोमबार काठमाडौंमा आयोजना गरिएको छ । विशिष्ट अतिथी तथा लगानीकर्ताहरु सहभागी भएका कार्यक्रममा डायल एक्सिलेटर कार्यक्रमका सहभागीहरुले आफ्ना उपलब्धि र भविष्यका योजना सुनाएका थिए ।
आध्यान्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले सहभागीहरुलाई आगामी दिनको सफलताको शुभकामना दिदैं उनीहरुले कार्यक्रमका दौरान गरेको मेहिनतको तारिफ गरे । ‘हामीलाई थाहा छ । उहाँहरुले ३२ घण्टे ह्याकाथनका बेलामा नसुती—नसुती आफ्ना प्रडक्ट फाइनल गर्नुभएको थियो । उहाँहरुको यो मेहिनत र हौसला कायम रहोस् । डायल कार्यक्रममा सहभागी भएर उहाँहरुले हासिल गरेका उपलब्धिले यो समाजमा उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
आध्यान्तले यस कार्यक्रम ‘डायल एक्सिलेटर’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा दैलो कृषि, आर एन्ड डी सोलुशन्स, एग्रिबाटो, डा. फिस, पिक एन्ड ड्रप, थोप्लो मेशिन र प्लान्ट स्याटगरी कृषि तथा लजिस्टिक क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सहजता र पारदर्शीता ल्याउने लक्ष्य राखेका ७ कम्पनीहरुलाई विगत केही महिनादेखि मेन्टरसिप तथा तालिम प्रदान गरिएको छ ।
यस अवधिमा कम्पनीहरुलाई व्यवसाय कसरी सञ्चालन गर्ने, गुणस्तरीय उत्पादन कसरी तयार गर्ने, बजारमा त्यसलाई कसरी चिनाउने, कम्पनी ठूलो बनाउन वित्तिय स्रोत कसरी खोज्ने, वातावरणीय प्रभाव र समावेशी विकासका लागि कस्ता कार्यक्रम तयार गर्ने ? लगायत विभिन्न शीर्षकमा तालिम तथा मेन्टरसीप प्रदान गरिएको थियो । त्यहीक्रममा ३२ घण्टे ह्याकाथन पनि आयोजना गरियो । जहाँ कम्पनीहरुले आफ्नो उत्पादनको प्रोटोटाइप विकास गरेर प्रदर्शनी समेत गरेका छन् ।
स्विस सरकार विकास सहयोगकी प्रतिनिधि सीसिल रिभेराले कृषिमा सिर्जनशिलता र नवप्रवर्तनमा स्विचरल्यान्डले सधैं साथ दिदैं आएको बताइन् । ‘स्विचरल्यान्ड निकै पुरानो परम्परागत कृषि खेती भएको देश हो र कृषिमा आधुनिकीकरणमा यसले अग्रणी भूमिका खेलिरहेको छ । चिज, चकलेट र इनोभेशन जोड्दा स्विचरल्यान्ड बन्छ,’ उनले भनिन्, ‘स्विचरल्यान्डले वैश्विक रुपमै नवप्रवर्तनमा अग्रणी भूमिका खेलेको छ । कार्यक्रममा विभिन्न कम्पनीहरुले पिच गरेका आइडिया देखेर निकै खुसी लागेको उनले बताइन् ।’
प्रमुख अतिथी दीपक विष्टले प्रविधिको सहायताले कुनै पनि कामलाई सहज र छिटो सम्पन्न गर्दा त्यसले समाजमा धेरै पक्षमा फाइदा पुग्ने बताए । प्रविधिमा देखिएको परिवर्तनले अवसर र चुनौती दुबै अगाडि ल्याएको भन्दै उनले यसको प्रयोगमा युवा पुस्ता सक्रिय ढंगले लाग्नुपर्ने बताए । ‘ उद्यमशिलतामा जोखिम र अवसर दुबै हुन्छ । अबको समय हामीले डिजिटल पब्लिक पूर्वाधार डिजिटल गुड्सको बलियो ब्याकअप तयार गर्नुपर्ने हुन्छ । हरेक क्षेत्रमा नवप्रवर्तनलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा विशेष अतिथी जुना माथेमाले पनि आफ्नो धारणा राखेकी थिइन् ।
डायल कार्यक्रममा सहभागी कम्पनीका प्रतिनिधिहरुले कार्यक्रममा आफ्ना योजना सुनाएका थिए । त्यस्तै उनीहरुले डायल एक्सिलेटर कार्यक्रममा सहभागी भएर हासिल गरेका उपलब्धिबारे पनि जानकारी गवराए । दैलो कृषिले प्रविधिको प्रयोगमार्फत किसानबाट स्थानीयस्तरमा उत्पादित कृषि सामाग्री मानिसको घरदैलोमा पुर्याउने गरेको छ । आर एन्ड डि सोलुशन्सले एग्रि नेपाल नामक एप विकास गरेको छ, यस कम्पनीले माटोदेखि बजारसम्म भन्ने नारासहित कृषि उत्पादनको प्रवद्र्धन गरिरहेको छ ।
एग्रिबाटोले किसानलाई थोक व्यापारीसँग जोड्ने काम गर्छ । एग्रिबाटो एप डाउनलोड गरेर किसानहरुले सोझै खरिदकर्तासँग सम्पर्क गर्न र बजार मुल्यको रियल टाइम अपडेट गर्नसक्छन् । डा. फिसले माछापालक किसानलाई पानीको गुणस्तर पहिचान गर्न र माछामा लाग्ने संभावित रोगहरुबाट जोगाउनका लागि विशेष यन्त्र विकास गरेको छ । लजिस्टिक क्षेत्रमा ५ वर्षदेखि कार्यरत कम्पनी पिक एन्ड ड्रपले सामाजिक सञ्जालमा आउने अर्डरलाई अटोमेशन प्रविधिमार्फत आफ्नो सिस्टममा तान्ने प्रविधि विकास गरेको छ । त्यस्तै स्मार्ट ग्राफ्टिङ प्रणाली, सिँचाई नियन्त्रक प्रणालीलगायत प्रविधि विकास गरिसकेको थोप्लो मेशिनले अंकुरण र कलमी गर्ने अटोमिक प्रणालीको विकासमा थप काम गरिरहेको छ ।
प्लान्ट स्याटले लामो समयदेखि कृषकलाई बीमाका लागि प्रोत्साहन गर्दै आएको छ । उक्त कम्पनीले डायल एक्सिलेटर कार्यक्रममा सहभागी भएर स्याटेलाइटमार्फत कृषिबालीको अवस्था पत्ता लगाउने प्रविधि विकासमा काम गरिरहेको छ । यस प्रणालीमार्फत काम गर्दा कृषकलाई बीमाबापतको क्षतिपुर्ति लिन र बीमा कम्पनीलाई भुक्तानी दिन सहज हुन्छ । यस प्रणालीले पारदर्शीता कायम राखेर कृषक र बीमा कम्पनीबीचको अविश्वास घटाउन सहयोग गर्ने प्लान्ट स्याटको लक्ष्य छ ।