भारतको दिल्ली प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट भएको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् ।
समाचारमा उल्लेख गरिएअनुसार २१ जना आइएसआइ एजेण्ट पक्राउ गर्ने क्रममा नेपाली नागरिक अन्सरुल मियाँ अन्सारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएका छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार उनीविरुद्ध मे महिनामै अभियोगपत्र दायर भएको थियो । उनलाई अहिले तिहाड जेलमा पठाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेको र उनी पाकिस्तान जाने क्रममा रहेको दिल्ली प्रहरीको दाबी छ । प्रहरीका अनुसार अन्सारीले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको र सोही सिलसिलामा आइएसआईसँग सम्पर्क भएको बयान दिएका छन् ।