पत्रकार रोहित भण्डारीले तेस्रो पुस्तक ‘दिए पुग्छ’ सार्वजनिक गरेका छन्। उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र लेखक भण्डारीलगायतले शुक्रबार पुस्तक लोकार्पण गरे।
उपसभामुख राना मगरले यो पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन्। काउन्सिलका अध्यक्ष बस्नेतले यस प्रकारका पुस्तकले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा राखे। साहित्यकार बलराम दाहालले पुस्तक पढ्दै जाँदा आफू धेरैपटक भक्कानिएको बताए।
लेखक भण्डारीले १३ वटा शीर्षकमा वास्तविक जीवनको संघर्षको कथा पुस्तकमा समावेश गरेको जानकारी दिए। परोपकारी भावनाको हेतुले कथात्मक शैलीमा वास्तविक पात्रलाई पुस्तकमा समावेश गरेको उनले बताए।
भण्डारीले यो पुस्तक लेख्न सात वर्ष लागेको र त्यस अवधिमा उनको जीवनमा अनेकौँ चुनौती आइपरेको बताए। पुस्तक लेख्दैगर्दा क्यान्सरबाट आमाको मृत्यु भएको उनले सुनाए। पुस्तकका सबै पात्रको कथा आमालाई सबै सुनाएको तर लेखिसक्दा उहाँ साथमा नभएको भन्दै कार्यक्रममा उनी भावुक बनेका थिए। उनले प्रेरणाको स्रोत बुवा रहेको बताए।
जयकाली प्रकाशनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रुपैयाँ छ।२० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीले यसअघि ‘नेपालमै सकिन्छ’ र ‘सम्भव छ’ नामक पुस्तकमा बजारमा ल्याएका छन्। दुवै पुस्तक चौथौ संस्करण प्रकाशन भइसकेका छन्।