काठमाडौं उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दा हेर्न उपभोक्ता अदालत गठन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरका उपभोक्ताका मुद्दा समाधान गर्न उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो।
न्यायपरिषद्ले १२ कार्तिकमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकेर उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो। सो अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन्, जो हाल विशेष अदालतमा कार्यरत छन्।
तीन प्रकारका मुद्दा हेर्ने
उपभोक्ता अदालतले प्रारम्भिक रूपमा तीन प्रकारका मुद्दाहरू हेर्नेछ:
उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा
उपभोक्ता संरक्षण ऐनअनुसारका कसुरका मुद्दा
सरकारले तोकेका उपभोक्ता हित सरोकारका अन्य मुद्दा
हाल काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधीन उपभोक्ता सरोकारका मुद्दाहरू अब उपभोक्ता अदालतमा सर्नेछन्। यस अदालतको गठनसँगै उपभोक्ताको हक संरक्षणमा थप प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ।