Skip to content

बेलायती राजाको सुरक्षा दलमा नेपाली

 

बेलायती राजा चाल्र्स तृतीयको सुरक्षा दलमा एक भूतपूर्व ब्रिटिस गोर्खा छनोट भएका छन् । ब्रिटिस सेनाको उच्च तह लेफिटनेन्ट कर्णेलबाट अवकासप्राप्त टोल खाम्चा मगर ब्रिटिस आर्मीको हाउस होल्ड डिभिजनअन्तर्गत किंग्स गार्डमा छनोट भएका हुन् ।

आउँदो फेब्रुअरी २० तारिखदेखि आफ्नो ड्युटी सुरु हुने मगरले जनाए । राजा चाल्र्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा आफ्नो कर्तव्य भएको खाम्चा मगरले बताए । गत अक्टोबरमा अप्लाइ गरेका उनले विभिन्न प्रक्रियासहित तीन चरणको अन्तर्वार्ता पूरा गरेर गत बिहीबार छनोट भएको खबर पाएको जनाए । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाए नपाएको जस्ता कुराबाट छनोट हुने खाम्चा मगरले बताए ।

’पहिला राजदरबारका निकटलाई मात्र छनोट गरिन्थ्यो । पछि इक्वेलिटी एन्ड डाइभर्सिटी र इन्क्लुसिभ हुनुपर्छ भनेपछि ब्रिटिस आर्मी, नेभी, रोयल एयर फोर्सलाई पनि दिन थालियो,’ मगरले भने, ’गोर्खाबाट छानिने म पहिलो हुँ । किंग्स गार्ड सेरेमोनियल ड्युटीका क्रममा टिम नै संलग्न हुन्छ । हेड अफ स्टेटको भिजिटका बेला, संसद् सुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुँदा आदि समारोहमा किंग्स गार्ड परिचालन गरिन्छ ।’

बेलायत र नेपालबीच २०८ वर्ष बढी लामो कूटनीतिक सम्बन्ध छ । गोर्खाहरूले राजा र ब्रिटिस साम्राज्यलाई सेवा गरिरहेको ऐतिहासिक पृष्ठभूमिमा यो ड्युटीभन्दा बढी सम्मान आफूलाई अरु नभएको खाम्चा मगरले बताए । ’गाउँमा हुर्किएको सामान्य मानिस रोयल हाउस होल्डको सदस्य हुने भएपछि यो अवसर किन छोड्ने भन्ने लाग्यो,’ उनले सुनाए, ’मेरो नियुक्ति पर्सनल इन्ट्रेस्टभन्दा पनि नेपाल र गोर्खाको प्रतिष्ठासँग गाँसिएको छ जस्तो लाग्छ ।’

खाम्चा मगरले यसअघि रोयल हाउस होल्डमा १८ महिना काम गर्ने अवसर पाएका थिए । ब्रिटिस आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गरेका खाम्चा मगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफिटनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकास लिएका थिए । ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेपछि लेफ्टिनेन्ट कर्णेल नै उच्च तह हो ।

१९ वर्षको कलिलो उमेर सन् १९८७ जनवरीमा भर्ती भएका उनी स्याङ्जाको शिरकोट करादीमा जन्मिएका हुन् । उनले विश्वभरका सैनिक अधिकृतले प्रशिक्षण लिने ठाउँ ब्रिटिस आर्मी हेडक्वार्टर रोयल मिलिट्री एकडेमी स्यान्डहस्र्टमा समेत लामो समय काम गरे । बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट विश्वमै कहलिएको छ ।

खाम्चा मगर सेवाका दौरान खाडी युद्धमा साउदी अरबदेखि कोसोभो, टर्की, इराक, अफगानिस्तान लगायत कयौं देशमा खटिए । सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा समेत काम गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x