काठमाडौं । Open AI ले बौद्धिक सम्पत्ति चोरीको विषयलाई लिएर चासो देखाएको छ । भाइरल च्याटबट डिपसिकको चर्चापछि चिनियाँ स्टार्टअपले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूको प्रविधि नक्कल गरिरहेको आरोप ओपनएआईले लगाएको हो ।
ओपनएआई र माइक्रोसफ्टले संयुक्त रूपमा आफ्ना मोडेलहरू ‘डिस्टिल’ गर्ने प्रयास गरिरहेका प्रयोगकर्तालाई प्रतिबन्ध लगाउन थालेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार ओपनएआईले डिपसिक कम्पनीमाथि अनुसन्धान गरिरहेको छ ।
डिपसिकले ओपनएआईका मोडेल प्रयोग गरेर आफ्ना साना मोडेलहरूलाई तालिम दिएको आरोप लगाइएको छ । डिस्टिलेसन भन्नाले ठूला र अत्याधुनिक एआई मोडेलको प्रतिक्रिया प्रयोग गरेर साना मोडेल विकास गर्नु हो । ओपनएआईले व्यापारिक प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा डिस्टिल गर्न अनुमति दिएको छ, तर यसको सेवा सर्त अनुसार प्रयोगकर्ताहरूलाई यसको प्रणालीको आउटपुटमा आफ्नै मोडेलहरू तालिम दिन अनुमति छैन ।
ओपनएआईका प्रवक्ताले भनेका छन्, “चीनमा आधारित कम्पनी र अन्य कम्पनीले निरन्तर रूपमा अमेरिकी एआई कम्पनीको मोडेल डिस्टिल गर्ने प्रयास गरिरहेका छन् । त्यसैले हामीले सरकारसँग मिलेर काम गर्न आवश्यक छ, ताकि हाम्रा उत्कृष्ट मोडेललाई प्रतिद्वन्द्वीहरूबाट बचाउन सकियोस् ।”
यद्यपि ओपनएआईले डिपसिकको नाम स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर डिपसिकको ओपन-सोर्स च्याटबट हालै निकै लोकप्रिय भएको छ । यसले एप्पलको एपस्टोरमा निःशुल्क एप्सको सूचीमा शीर्ष स्थान पाएको छ ।
बुधबार गुगल प्ले स्टोरमा पनि पनि यो एप शीर्ष डाउनलोड हुने एपको सूचीमा परेको छ । यसको सफलताले एआई क्षेत्रमा संलग्न सार्वजनिक कम्पनीहरूको शेयर बजारमा १० खर्ब डलरको गिरावट आएको छ । डिपसिकको च्याटबटले ओपनएआई र गुगलका एआई प्रणालीहरू जत्तिकै काम गर्ने दाबी गरिएको छ । जबकि यस टुल निर्माणमा निकै कम लागत लागेको छ भने तुलनात्मक रूपमा कम शक्तिशाली चिप प्रयोग भएका छन् ।
डिपसिकले आफ्ना आउटपुटमा ओपनएआईका नीतिहरू उल्लेख गरेको भन्ने समाचार आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एआई सल्लाहकार डेभिड स्याक्सले डिपसिकले ओपनएआईका मोडेलबाट ज्ञान ‘डिस्टिल’ गरेको प्रमाण रहेको बताएका छन् । तर, ओपनएआई आफैंले पनि प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा खेपिरहेको छ ।
लेखक, हास्य कलाकार, समाचार संस्था र अन्य धेरैले ओपनएआईले उनीहरूको अनुमति बिना नै प्रतिलिपि अधिकारयुक्त सामग्री प्रयोग गरेर आफ्ना मोडेल तालिम दिएको आरोप लगाएका छन् । गत वर्ष ओपनएआईले प्रतिलिपि अधिकारयुक्त सामग्री बिना आजका प्रमुख एआई मोडेललाई तालिम दिन असम्भव भएको स्वीकार गरेको थियो ।