काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले देशमा अस्थिरताको राजनीति गर्नेहरु छटपटाइरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) गुल्मीमा एक पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार देशमा चरम निराशालाई चिर्न र राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको आलोचना गरेको तर्फ लक्षित गर्दै उनले अस्थिरताको राजनीति गर्नेहरु छटपटाउनुको कुनै तुक नरहेको बताए । वर्तमान सत्ता गठबन्धन यो संसद्को पूरै अवधि टिक्नेमा आशंका नरहेको उनले बताए ।
वर्तमान सरकार चरम निराशा चिर्न र देशमा राजनीतिक स्थायित्व कायम राख्न सफल भएको नेता ज्ञवालीको दाबी छ । प्रधानमन्त्रीको लिस्टमा नाम राख्नका लागिमात्रै वर्तमान सरकार नबनेको उनले बताए ।
साथै, फरक प्रसंगमा उनले विदेशी सहायता रोक्ने अमेरिकी सरकारको निर्णयले नेपालमा पनि असर पर्ने बताए । विदेशी सहायता ९० दिनसम्म रोक्ने अमेरिकी सरकारको निर्णयको प्रभाव नेपालमा केहीमात्रामा देखिएपनि मातृ शिशु सहयोग र आप्रवासी निकालासम्बन्धी विषयले नेपाललाई ठूलो प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
साथै, वर्तमान सरकार परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नेगरी अगाडि बढिरहेको पनि ज्ञवालीको दाबी छ ।