बागलुङ । नेपालमा २५ औं र गण्डकी प्रदेशमा चौथो बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको रुपमा बागलुङ नगरपालिका घोषणा भएको छ । बुधवार नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री नगर घोषणा गरे । साथै उनले बालमैत्री नगर अभियानको प्रतिवद्दतापत्रमा पनि हस्ताक्षर गरे ।
नेपाल सरकारले ल्याएको स्थानीय शासन कार्यन्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले तोकेका सबै सूचक पुरा गरेर जिल्ला समन्वय समिति तथा गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले समेत अनुगमन गरेर प्रतिवेदन दिएपछि मात्र बालमैत्री घोषणा गरिएको हो । घोषणामा सहभागि हुन नगरभित्रका हजारौं बालबालिका धौलागरि धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा उत्रेका थिए ।
बाजागाजा, भजनकृतन, झाँकी, राष्ट्रिय गीत संगीत र बालमैत्री अभियानका नारा समेत लगाएर बालबालिका कार्यक्रममा सहभागि थिए । उपप्रधानमन्त्री सिंहले बालमैत्री नगर अभियान घोषणाले अरु पालिका र नेपाल सरकारलाई समेत चुनौती थपेको बताए । बालमैत्री शासन युक्त नगरलाई निरन्तरता दिने र भौतिक बिकासमा बालमैत्री बनाउने गरी थप बिकासका योजना थप्न पनि सरकार सकारात्मक भएको समेत उनको भनाइ थियो । यो अभियानले नेपालले बाल अधिकारको क्षेत्रमा गरेको प्रगतीमा अर्को इटा थपिएको बताए ।
बालबालिकाको सुनौलो भविष्यकालागि अहिले देखिनै लगानी गर्नुपर्ने बताउँदै मन्त्री सिंहले यो अभियानलाई दिगो बनाउने चुनौती नै सामाजिक बिकासको मुल पाटो भएको बताए । ‘अभियानको रुपमा घोषणा हुने कुरा महत्वपूर्ण छ, तर दिगो बनाउनु झन बढी महत्वको बिषय हो’ श्रेष्ठले भने, ‘अन्तराष्ट्रिय मंचमा हामीले गर्विलो बनेर उभिने सूचक पुरा गरेका छौं ।’ नेपाल सरकारले २०८७ साल भित्र देशलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ ।
बालमैत्री स्थानीय शासनकालागि स्वास्थ्य, शिक्षा र समुदाय तहमा गरी ५१ वटा सूचक पुरा गर्नुपर्छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगर भित्रका झण्डै २७ हजार बालबालिका निकृष्ठ श्रमबाट मुक्त, बाल बिवाह रहित र अर्थपूर्ण सहभागिता सहितको बाल अधिकार पाएको तथ्यांक प्रस्तुत गरेपछि उपप्रधानमन्त्री सिंहले बालमैत्री नगर घोषणा गरेका हुन् । उनले अब पूर्वाधारमा मात्र नभइ शासनमा पनि बालमैत्री बन्नुपर्ने बताए ।
बालमैत्री घोषणा पछि नगर भित्रका सबैखाले सामाजिक क्षेत्रमा बालबालिकाको सहभागिताको सुनिश्चितता हुनुपर्ने प्रावधान छ । बालमैत्री स्थानीय शासनको दिगो पनाकालागि ती सूचकहरु निरन्तर पुरा भएको हुनुपर्ने बाध्यता छ । हाल गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा ५१ प्रकारका सूचक सबै बिद्यालय, वडा र समुदायमा पुगेपछि घोषणाकालागि सिफारिस गरेको थियो ।
२०७९ जेठ ६ गतेको पहलिो कार्यपालिकाको बैठकको निर्णय स्वरुप साँढे २ बर्षमा यो अभियान पुरा गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाका १४ वटा वडा र १ सय ४ बिद्यालयलाई नै बालमैत्री घोणापछि नगर घोषणा भएको हो । बालमैत्री नगर बनाउने निर्णयले दुइ बर्षमा दुइसयबढी कार्यक्रम मार्फत घरघरमा सकारात्मक सन्देश पुगेको बालमैत्री फोकल पर्सन तिलक आचार्यले जानकारी दिए । ‘घरघरमा बालमैत्री भनेको के हो ? भन्ने चर्चा भएको छ’ आचार्यले भने, ‘केही निरन्तर रुपमा गरिने काम पनि संचालनमा छन् ।’ जन्मेदेखि ५ बर्ष सम्मका सबै बालबालिकाले चाहिने सबै खोप पाएको, आधारभूत शिक्षा निशुल्क र अनिवार्य, बालबिवाह मुक्त, निकृष्ठ श्रममा कोहीपनि बालबालिका नलागेको सूचकहरु पुरा भएको समेत उनले बताए ।
नगरप्रमुख श्रेष्ठले दुइ बर्षमा अत्यावस्यक पर्ने बिद्यालयहरुमा १० करोड बढीका पूर्वाधार समेत बनेको बताए । उनले गुणस्तरीय शिक्षाकालागि अभिमूखीकरणहरु समेत सम्पन्न भएको बताए । ‘नगर प्रमुखस“ग प्रश्न गर्न सक्ने सबै बिद्यार्थी तयार गर्दैछौ’ श्रेष्ठले भने, ‘बालमैत्री सूचकले नदेखाएको लोकतन्त्रका अन्य पाटापनि पुरा गर्न लागेका छौं ।’ चुनौतीको रुपमा रहेको बालबिवाह समेत अन्त्य भएको र त्यसको निरन्तरताकालागि नगरपालिकाले सचेतनाका अभियान चलाउने श्रेष्ठको भनाइ छ ।
नगरभित्रका भौतिक पूर्वाधारहरु बालमैत्री बन्ने, घरघरमा शुद्द खानेपानीको व्यवस्था, आम नागरिकको बानी व्यवहार पनि बालबालिका मैत्री बनिसक्ने अबस्थाले देशकै स्ट्यान्डर बढ्ने देखिएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । ‘हामीले घरघर, टोलटोलमा पुगेर यो अभियानको बारेमा खोजी र जिज्ञाशा राख्दा धेरै अभिभावक जानकार भैसकेका छन्’ थापाले भने, ‘आम नागरिकमा चासो बढ्दा ग्रामीण क्षेत्रमा गरिने अन्य बिकास निर्माण पनि बालमैत्री सूचकमा केन्द्रीत बन्नेछन् ।’ स्वास्थ्यचौकी, बिद्यालय र समुदायमा बनाइने खानेपानीका धारा, शौचालयका चुकुल समेत बालमैत्री बन्न थालेको उनले बताए ।
चालुबर्ष बागलुङ नगरपालिकाले २० वटा बिद्यालयमा त बाहिरी खेल मैदानको अभावमा खेल्न नपाएका बालबालिकालाई इन्डोर खेल सामाग्री समेत बितरण गरेको छ । होटल तथा रेस्टुरेन्ट र सडकमा भेटिने बालबालिका शुन्य बनाउने, भेटिएपनि तत्काल उद्दार गरेर नगरले अभिभावकत्व लिएर संरक्षण गर्ने योजना श्रेष्ठले सुनाए । गत असारमा नगरपालिकाले ल्याएको नीतिमा ‘नगरकी छोरी’ भन्ने नारा समेत छ । उक्त नारा अनुसार छोरी जन्मने वित्तिकै नगरपालिकाले ५ हजार रुपैयाँ दिएर खाता खोलिदिने भएको छ । उक्त खाताले बिपन्न परिवारका सदस्यलाई राहत समेत मिल्ने छ ।
घोषणा कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, राष्ट्रिय सभाका सदस्य किरणबाबु तिवारी, गण्डकी प्रदेशकी उपसभामुख बिना राना, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी लगायत राजनीतिक दलका प्रतिनिधि समेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय समुदायले जातीय संस्कृति समेत झल्कने झाँकी प्रस्तुत गरेका थिए । बिद्यार्थीहरुले बिज्ञान प्रर्दशनी पनि गरेका थिए । धौलागिरि बहुमुखी क्यामपसको प्राङगण प्रवेश गर्ने सबैलाई नगरपालिकाले पानी र खाजाको रुपमा भुटेको मकै समेत बितरण गरेको थियो ।

Subscribe
Login
0 Comments
Oldest