Skip to content

सहज बन्दै मनाङको यात्रा

मनाङ- पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामेखण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो।

डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए। उनका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किलाेमिटर सडक कालोपत्र सम्पन्न भएको हो।

सबइन्जिनियर अधिकारीले भने, ‘मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ। भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ। जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ।’ बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु. ५१ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए।

आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतीकमानसिंह प्रधानले जानकारी दिए। उनका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो।

प्रबन्धक प्रधानले भने, ‘ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन। मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक स्तरमा सुधार हुँदै जाने थियो। ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पुर्‍याइरहेको छ।’

मनाङको चामे गाउँपालिका– १, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्ने गरी निर्माणाधीन १३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताए।

उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबिच ०७९ पुस ३ गते सम्झौता भएको थियो। यस आयोजनाको क्षमता १३५ मेगावट रहेको छ। चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो।

आयोजनामा नेपाली साझेदार बिपिसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्युवाइसी इन्टरनेसनलले संयुक्त रूपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ।

आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिए। वार्षिक ७६६.५९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x