विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला रंगशालाको स्थलगत अनुगमनका लागि पुगेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल क्रिकेट मैदानको बाहिरबाटै मैदानको नजारा लिँदै फर्कन बाध्य भएका छन् ।
विराटनगरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको रंगशालामा शनिबार फुलगच्छासहित स्थानीय र पार्टीका नेताहरु पुगेका थिए । तर, मैदानको मुख्य आकर्षण क्रिकेट मैदानको द्वारमा लगाएको ताला नखुलेपछि सबै हतास देखिए । यससँगै अध्यक्ष दाहालले तारबारबाट घेरिएको मैदानको बाहिरी रुप हेरेर फर्कनु परेको हो ।
यद्यपि मैदानबाहिर रहेको पक्की प्याराफिटबाट उनले मैदान हेरे । क्रिकेट मैदानमा २ वटा पिच रहेको छ । उनले सोही स्थानबाट चौतर्फी नजारा हेरेर फर्कनु परेको हो ।
करिब १५ विगाह क्षेत्रमा फैलिएको मैदानको मुख्यद्वारबाट अध्यक्ष दाहाल बिहान करिब १० बजे प्रवेश गरेका थिए । मुख्यद्वारबाट अध्यक्ष दाहालले प्रवेश पाएपनि क्रिकेट मैदानको गेटमा ताला लागेको हुँदा मैदानको भित्रबाट निरीक्षण गर्न पाएनन् । जिल्ला खेलकुद विकास समिति मोरङले रेखदेख गर्दै आएको मैदानमा क्रिकेटतर्फको मैदान भने जिल्ला क्रिकेट संघ मोरङले हेर्दै आएको छ ।
अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा सो क्रिकेट मैदानका लागि तत्कालिन सरकारले राष्ट्रिय गौरवको योजना अन्तर्गत तीनवर्षभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानसहित बहुउद्देश्यि कभर्डहल, पौडीपोखरी, चेन्जिङ ब्लक, पवेलियन, प्याराफिट लगायत निर्माण गर्न ३ करोड रुपैया बजेट समेत विनियोजन गरेको थियो । तर अध्यक्ष तारबारले घेरावार गरिएको क्रिकेट मैदान बाहिरबाट मात्रै हेरेर फर्किएका हुन् । सो क्रममा अध्यक्ष दाहालले रंगशाला निर्माण कार्य छिटो सक्ने माग गरे ।
समग्र रंगशालाको जिम्मा जिल्ला खेलकुदको रहे पनि मैदानमा ब्यस्थापनदेखि रेखदेख क्रिकेट संघले गर्दै आएको छ । तालाबन्दी नखोलिएको विषयमा क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले पूर्वप्रधानमन्त्रीले मैदान अनुगमन गर्ने विषय जानकारी नहुँदा समस्या भएको बताए ।
उनले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले आज मैदान हेर्ने कुरा हामीलाई कसैले जानकारी गराउनु भएन । एकाएक बिहान मैदानमा पुगेर खबर आयो । तर, मैदानको लगाइएको तालाको चाबी मैदान हेर्दै आएका एक कर्मचारीले राख्ने गरेका छन् । जानकारीको अभाव हुँदा समस्या भएको हो ।’
अध्यक्ष कुरैसीले भने, ‘ताला लगाएको विषयमा खोल्न भनिएपछि आफूले अहिले फुटाएर उहाँलाई मैदानमा प्रवेश गराउन अनुरोध गरेको थिएँ। उहाँहरुले मान्नु भएन । यसमा हामीपनि दुखी छौँ । हिजोमात्र क्यान अध्यक्ष चतुरबहादुर चन्द आउँदा मैदान देखाएका थियौँ ।’
मैदान खुला राख्दा सरसमान हराउने, गौचरण अवस्था हुने हुदाँ तालाचाबी लगाउनु परेको उनको भनाइ छ ।
त्यसैगरी मैदानमा पुगेका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य किरण गिरीले जानकारी गराउँदै गर्दा चाबी नपठाइएको बताए ।
बैजनाथपुरस्थित सो रंगशालाका लागि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५५/०५६ सालमा करिब ८५ लाख रुपैयाँमा लागतमा खरिद गरिएको हो ।
सो रंगशालामा सातौ राष्ट्रिय खेलकुद आयोजना भएको थियो । सो समय रंगशालामा सफ्ट टेनिसको कोर्ट, शुटिङ रेञ्ज समेत रहेको छ । तर, दुवै खेलस्थल प्रयोगविहीन हुदाँ जीर्ण अवस्थामा रहेको छ । अध्यक्ष दाहालले ती संरचनाको समेत निरीक्षण गरेको एक नेताले जानकारी दिए ।