पर्वत । कुश्मा नगरपालिका – ५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको छ । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सन्चालनमा ल्याइएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चिनिया लगानीकर्ताको करिब आठ करोड रुपैयाँ लगानीमा उद्योग सन्चालन गरिएको हो । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो संकलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।
चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो। यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइन्छ । चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्छ।
यसका लागि कम्पनीले प्रतिकिलो २० रुपैयाँका दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी आठका दरले गुर्जी गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाइ साढे दुई इञ्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ।
उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ । कम्पनीले पहिलोपटक एक हजार २०० केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जानकारी दिएको छ ।