पुस महिना लागेसँगै भूकम्पको धक्का थुप्रै भए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पुसको तेस्रो सातासम्म आइपुग्दा ११ वटा भूकम्प गइसकेका छन् । नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प औसत रूपमा दैनिक ११ पटकसम्म जाने भुकम्पविदहरु बताउँछन् । नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सक्छन् । यसभन्दा मुनिका ससाना भूकम्प त झन् कति जान्छ कति त्यसको यकिन तथ्यांक हुने गरेको छैन् ।
१९९० सालको भूकम्पले ठूलो धनजनको क्षति भयो रे भनेर सुनेका नेपालीले विसं २०७२ सालको भूकम्पको अनुभव गर्न पाए । १९९० को भूकम्प पछि करिब ७२ वर्षपछि अर्थात् विसं २०५५ देखि मात्र माघ २ गते उक्त भूकम्पले गरेको विनाश र भूकम्पीय जोखिम क्षेत्रमा बसेका हामी सधैँ सचेत रहनु पर्छ भनेर जनचेतना जगाउने उद्देश्यले भूकम्प सुरक्षा दिवस मनाएर सचेतना जगाउने र सजग गराउने कार्यको सुरुवात भएको थियो । नेपालमा मुख्यतया हिमताल विस्फोट, आँधी, वर्षामा बाढी पहिरो, चट्याङ, हिँउदमा शीतलहर, ग्रिष्म कालमा लु तथा आगलागी र भूकम्पलगायतका प्रकोपको जोखिम बढ्दो छ । केही वर्षदेखि यस प्रकारका प्रकोपको शृङ्खलासँगै धनजनको क्षति र हताहती पनि बढ्दै गएको देखिन्छ । यसै कुरालाई ध्यानमा राखी गृह मन्त्रालयले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्था अनुसार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति, २०७५ समेत ल्याएको छ । उक्त ऐनले विपत्लाई मुख्यतया प्राकृतिक र गैरप्राकृतिक प्रकोपका रूपमा वर्गीकरण गरेको छ । विपतपूर्व गरिने तयारी, विपतका समयमा गरिने उद्दार तथा विपत्पश्चात गरिने उद्दार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माण विपत् न्यूनीकरणका तथा विपतसँग सम्बन्धित विभिन्न चरण हुन् ।
हालैका दिनहरूमा नेपालका विभिन्न क्षेत्र र विशेष गरी पश्चिम नेपालका बझाङ, बाजुरा, दार्चुला र जाजरकोट लगायतका जिल्लामा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेका छन् । तीमध्ये ५.२ रेक्टरको २०८१ पुस ५ गते गएको बाजुराको मझौला मानको भूकम्पले केही क्षति पुगेको समाचार आए । यी भूकम्पले ती क्षेत्रमा शक्ति सञ्चित भएको सङ्केत दिएका हुन् । त्यसैले हामी यसलाई पूर्व संकेतको रूपमा लिई सचेत र चनाखो हुनुपर्छ र सोहीबमोजिम पूर्वतयारी पनि गर्नुपर्छ । यसको अर्थ नेपालका अन्य क्षेत्र भूकम्पबाट सुरक्षित छन् वा पूर्वी नेपालमा भूकम्प जादैन भन्न खोजिएको रूपमा बुझ्नु हुँदैन । जनचेतना जगाउने कार्यलाई निरन्तरता दिने र समय समयमा सचेत गराउने कार्य नगर्नाले पनि यस प्रकारका प्रकोपको जोखिम बढ्दो छ । कालान्तरमा समयमै पूर्वसूचना दिन सकियो वा सकिने प्रणालीको विकास भयो भने पनि हामीले केही धनजनको क्षति र हताहती कम गर्ने हो तर बनेका संरचना भूकम्प प्रतिरोधी नभएमा ती भवन र संरचनामा क्षति पुग्छ नै । हामी भूकम्पको धक्का महसुस भएको समयमा मात्र भूकम्प, भूकम्प शिक्षा, भवन निर्माण संहिताको प्रयोग गरी संरचना निर्माणको कुरा गर्ने र समय बित्दै गएपछि बिर्सने वा बेवास्ता गर्ने जुन प्रवृत्ति छ यो घातक छ । बहुप्रकोपको जोखिम भएको देशमा बसेका हामी सधैँ सजग, सचेत र चनाखो हुन जरुरी छ ।