काठमाडौँ । हरेक हिउँदमा उत्तरीधु्रवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।
चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर कर्याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । चिसो क्षेत्रबाट हजारौँको संख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।
यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाईसरी आउने पानी चरामा हाँस, जलेवा, गंगाचील आदि पर्छन् ।
यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न जलपन्छीको गणना सुरु गरिएको छ ।
नेपाल पन्छीविद् संघले गणनामा समन्वय गरिरहेको छ । हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म (पुस २० गतेबाट माघ ६ गते सम्म) सञ्चालन हुनेछ । मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न जलपन्छीको गणना सुरु गरिएको छ ।
सन् २०२४ मा गरिएको जलपन्छी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा चार सय दुई स्वयम्सेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपन्छी रेकर्ड गरेको संघको तथ्यांक छ । यीमध्ये छवटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए ।