पोखरा । पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । पोखरामा यही फागुन १७ देखि १९ गतेसम्म आयोजना हुने जनाइएको छ । महोत्सव चलचित्र विकास बोर्डको मुख्य आयोजनामा हुन लागेको हो ।
बोर्डका अध्यक्ष दिनेश डिसीले पोखरा महानगरपालिका मेयर धनराज आचार्यसँग भेटबार्ता पछि महोत्सव सम्बन्धी प्रारम्भिक र महत्वपूर्ण छलफल भएको उल्लेख गरेका छन् । पहिलो पटक ठूलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायांकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवद्र्धन गरिने जनाइएको छ ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले कलाकार र स्रष्टाहरुलाई पोखरामा स्वागत गर्दै महोत्सव सफल हुने बताएका छन् । विकास वोर्डको मुख्य आयोजनामा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवद्र्धकको रूपमा रहनेछन् ।